रोयटर्स । भारतको पूर्वी तटीय क्षेत्रमा मंगलबार चक्रवात ‘मुरासु’ प्रवेश गरेको छ । एक साताभित्र उक्त क्षेत्रमा आएको यो दोस्रो चक्रवात हो । सम्भावित जोखिमलाई ध्यानमा राख्दै अधिकारीहरूले हजारौँ मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेका छन् ।
भारतको मौसम विभागका अनुसार शक्तिशाली चक्रवात मुरासु स्थानीय समयअनुसार बिहान ३ः३० देखि ५ः३० बजेको बीचमा आन्ध्र प्रदेशको दक्षिणपूर्वी तटीय क्षेत्रमा प्रवेश गरेको हो ।
चक्रवातका कारण प्रतिघण्टा १०० देखि ११० किलोमिटरको गतिमा हावा चलेको र हावाको झोक्का १२० किलोमिटर प्रतिघण्टासम्म पुगेको मौसम विभागले जनाएको छ ।
आन्ध्र प्रदेश राज्य विपद् व्यवस्थापन प्राधिकरणका प्रमुख प्रखर जैनका अनुसार अहिलेसम्म मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन । यद्यपि चक्रवातका कारण केही रुख र विद्युत् पोलहरू ढलेका छन् ।
अधिकारीहरूले सोमबारदेखि नै सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्न सुरु गरेका थिए । आन्ध्र प्रदेशमा मात्रै करिब ३० हजार मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी गरिएको थियो ।
बंगालको खाडीमा विकसित भएको चक्रवातले आन्ध्र प्रदेश र दक्षिणमा रहेको तमिलनाडु राज्यमा बढी प्रभाव पार्ने मौसम विभागले पूर्वानुमान गरेको छ ।
यसअघि गत बुधबार चक्रवात ‘अर्नब’ आन्ध्र प्रदेशको तटीय क्षेत्रमा प्रवेश गर्दा कम्तीमा ६ जनाको मृत्यु भएको थियो । भारतीय मौसम विभागले त्यसलाई अत्यन्त शक्तिशाली चक्रवातको श्रेणीमा राखेको थियो ।
