काठमाडौं । नेपाली कांग्रेसका नेता देवराज चालिसेले पार्टीको आन्तरिक विषयमा हस्तक्षेप नगर्न सत्तारूढ पक्षलाई चेतावनी दिएका छन् ।
सामाजिक सञ्जालमार्फत चालिसेले कांग्रेसका सबै सांगठनिक गतिविधि पार्टी विधान, संविधान र प्रचलित कानूनअनुसार सञ्चालन हुने बताएका हुन् ।
कांग्रेसको वैधानिकता प्रमाणित गर्न सत्तापक्षले खडा गरेका कुनै व्यक्ति वा शक्तिको आवश्यकता नरहेको उनको भनाइ छ । लाखौँ पार्टी सदस्यको अभिमत, सहभागिता र वैधानिक प्रक्रियाबाट प्राप्त निर्णय नै पार्टी सञ्चालनको आधार भएको उनले उल्लेख गरेका छन् ।
पार्टीभित्र असहमति र विमति हुनु लोकतान्त्रिक अभ्यासको स्वाभाविक पक्ष भएको भन्दै उनले यस्ता विषय कांग्रेस आफैँले लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्न सक्षम रहेको बताएका छन् ।
कांग्रेसभित्रको असहमतिलाई लिएर लोकतन्त्रविरोधीहरूले खुसी मनाउन आवश्यक नरहेको उल्लेख गर्दै उनले सत्तारूढ पक्षलाई आफ्नै कमजोरी सम्हाल्न सुझाव दिएका छन् ।
कांग्रेस सामाजिक सञ्जालका स्टाटस र उत्तेजनात्मक भाषणबाट निर्माण भएको पार्टी नभएको भन्दै चालिसेले कलाकार हुनु र राजनेता हुनु, भीड जम्मा गर्नु र राजनीतिक दल निर्माण गर्नु तथा चुनाव जित्नु र लोकतान्त्रिक संस्कार स्थापित गर्नु फरक विषय भएको टिप्पणी गरेका छन् ।
सत्ताको उन्मादमा इतिहासलाई चुनौती नदिन चेतावनी दिँदै उनले अहिले दबाइएका वा ओझेलमा पारिएका प्रश्नहरूको जवाफदेहिताको समय पनि आउन सक्ने बताएका छन् ।
इतिहासले कसैलाई सधैँ उन्मुक्ति नदिने उल्लेख गर्दै चालिसेले सद्दाम हुसेन, मुअम्मर गद्दाफी र हिटलरजस्ता शासकहरूको पतनको उदाहरण दिएका छन् । उनले शक्ति स्थायी नहुने र अहंकारको आयु झन् छोटो हुने बताएका छन् ।
