‘लेक अमेरिका’ नामकरणको विरोधमा क्यानडाले राख्यो लेक ओन्टारियोको ठूलो साइनबोर्ड

बीबीसी । अमेरिकाले लेक ओन्टारियोको नाम परिवर्तन गरी ‘लेक अमेरिका’ राख्ने निर्णय गरेपछि क्यानडाले त्यसको प्रतिवादस्वरूप तालको किनारमा ‘लेक ओन्टारियो, अहिले र सधैँ’ लेखिएको ठूलो साइनबोर्ड राखेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार कार्यकारी आदेश जारी गर्दै लेक ओन्टारियोको नाम ‘लेक अमेरिका’ राख्ने घोषणा गरेका थिए। अमेरिका र क्यानडाबीच फैलिएको उक्त तालको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई क्यानडाले अस्वीकार गरेको छ।

ओन्टारियोका प्रिमियर डग फोर्डले ट्रम्पको निर्णयप्रति प्रतिक्रिया दिँदै भने, ‘राष्ट्रपति ट्रम्पभन्दा धेरै पहिलेदेखि यो ताललाई लेक ओन्टारियो भनिँदै आएको छ। राष्ट्रपति ट्रम्प गएपछि पनि यसलाई लेक ओन्टारियो नै भनिनेछ।’

अमेरिका–क्यानडा व्यापार वार्ता असफल भएपछि दुई देशबीच तनाव बढेको हो। अमेरिकाले क्यानडाबाट आयात हुने करिब २० अर्ब अमेरिकी डलर बराबरका वस्तुमा नयाँ ५० प्रतिशत भन्सार शुल्क लगाएको छ। त्यसको जवाफमा क्यानडाले आगामी महिनादेखि समान मूल्यको प्रतिशुल्क लगाउने जनाएको छ।

ट्रम्पले नाम परिवर्तनसम्बन्धी आदेशमा हस्ताक्षर गर्दै निर्णय तत्काल लागू हुने बताएका थिए। यद्यपि, अमेरिकाले आफ्नो सरकारी प्रयोगमा कुनै भौगोलिक स्थानलाई फरक नाम दिए पनि अन्य देशले त्यसलाई स्वीकार गर्नुपर्ने बाध्यता हुँदैन।

शनिबार ट्रम्पले सामाजिक सञ्जालमा लेक ओन्टारियोसम्बन्धी कृत्रिम बौद्धिकता (एआई) बाट तयार गरिएका भिडियोहरू पनि सार्वजनिक गरेका थिए। एउटा भिडियोमा ट्रम्पले ‘लेक ओन्टारियो’ लेखिएको साइनबोर्ड हटाएर ‘वेलकम टु लेक अमेरिका’ लेखिएको बोर्ड राखेको देखाइएको थियो।

अर्को भिडियोमा अमेरिकी राष्ट्रपतिको जस्तै कपाल भएका र राइफल बोकेका क्यानाडाली हाँसहरूको समूहले नयाँ नाम दिइएको ‘लेक अमेरिका’ को किनारमा गस्ती गरिरहेको देखाइएको थियो।

फोर्डले ट्रम्पले तालको नाम परिवर्तन गर्नुको कारण ‘ओन्टारियो र क्यानडाले आफ्ना अधिकारका लागि आवाज उठाएको मन नपराउनु’ भएको टिप्पणी गरे।

नयाँ साइनबोर्ड अनावरण गर्दै फोर्डले भने, ‘राष्ट्रपति ट्रम्प वा अरू कसैले बिर्सिए भने सम्झाउनका लागि हामीले यो साइनबोर्ड राखेका हौँ—यो लेक ओन्टारियो हो, अहिले पनि र सधैँभरि।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *