नेपालको विपत्तिपछि भारतद्वारा हिमनदी निगरानी तीव्र

नयाँदिल्ली । हिमनदी खस्दा आएको मानिएको विनांशकारी बाढीको केही दिनपछि भारतले चीन र नेपालसँग सीमा जोडिएका आफ्ना हिमाली क्षेत्रमा हिमनदी तथा हिमनदीजन्य तालको निगरानी बढाएको अधिकारीहरूले शनिबार बताएका छन्।

युएस जियोलोजिकल सर्भेका अनुसार बुधबार तिब्बत–नेपाल सीमामा आएको विपत्ति हिमनदी खस्दा उत्पन्न लेदोसहितको तीव्र बहावका कारण भएको थियो । घटनामा करिब तीन हजार मानिस बेपत्ता भएका छन् भने ६३३ जनाको मृत्यु पुष्टि भएको छ।

हिमनदी खस्नुको यकिन कारण स्पष्ट नभए पनि जलवायु परिवर्तनका कारण विश्वभर हिमनदी तीव्र गतिमा पग्लिँदा यस्ता विपत्तिको जोखिम बढिरहेको वैज्ञानिकहरूले बताएका छन्।

“नेपालसँग हाम्रो सीमा जोडिएको र भौगोलिक अवस्था पनि समान भएकाले हामीले सम्बन्धित विभागलाई यस क्षेत्रका सबै हिमनदी र ज्ञात हिमनदीजन्य तालको निगरानी गर्न निर्देशन दिएका छौँ”, भारतको हिमाली राज्य उत्तराखण्डका विपत्ति व्यवस्थापनमन्त्री मदन कौशिकले भने।

“हामीले आफ्ना टोलीलाई सतर्क रहन र राज्यका कुनै पनि क्षेत्रमा यस्तै अवस्था सिर्जना भइरहेको छ कि छैन भनेर निगरानी गर्न भनेका छौँ”, उनले एएफपीसँग भने ।

सरकारी तथ्याङ्कअनुसार उत्तराखण्डमा एक हजार २६६ हिमनदीजन्य ताल छन्। यसका कारण राज्यलाई भारतको संवेदनशील पारिस्थितिक क्षेत्रमध्ये एक मानिन्छ।

वैज्ञानिकहरूका अनुसार हिमाली हिमनदीले विश्वका करिब दुई अर्ब मानिसलाई आवश्यक पानी उपलब्ध गराउँछन्। तर जलवायु परिवर्तनका कारण ती पहिलेभन्दा तीव्र गतिमा पग्लिरहेका छन् ।

यसले हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायलाई अप्रत्याशित तथा विनाशकारी विपत्तिको जोखिम बढाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *