काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्रीमा महावीर पुनले विपद्का बेला चीन सरकारले नेपाललाई उपलब्ध गराएको राहत तथा उद्धार सहयोग अत्यन्त महत्वपूर्ण रहेको बताएका छन् ।
आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ सरकारबाट नेपाल सरकारलाई हस्तान्तरण गरिएको राहत सामग्री ग्रहणपछि चिनियाँ सञ्चारमाध्यम सीएमजीसँग कुरा गर्दै मन्त्री पुनले चिनियाँ सरकार, राष्ट्रपति सी चिनफिङ र नेपालस्थित चिनियाँ राजदूतावासप्रति आभार व्यक्त गरे ।
चीनले नेपालका बाढी प्रभावितका लागि ५० टन आपतकालीन राहत सामग्रीसहित चिनियाँ उद्धार टोली पठाएको छ ।
चिनियाँ जनमुक्ति सेना (पीएलए) वायुसेनाका दुईवटा वाई–२० ठूला ढुवानी विमान आइतबार बिहान करिब ७ बजे राहत सामग्री लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए ।
विमानमा चार जना चिनियाँ सुरुङ उद्धार विशेषज्ञ तथा उद्धारका लागि आवश्यक उपकरणसमेत ल्याइएको छ ।
चिनियाँ दूतावासका अनुसार दुवै विमान चीनको छेन्दुस्थित शुआङ्लिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेका थिए । करिब तीन घण्टाको उडानपछि ती विमान काठमाडौँ आइपुगेका हुन् ।
चीनले पठाएको राहत सामग्रीमा पाल, कम्बल, सुत्ने झोला, ड्राइ बिस्कुट तथा प्राथमिक उपचार सामग्रीलगायत १३ हजार २०० थान सामग्री रहेका छन् । ती सामग्रीको कुल तौल ५० टन रहेको छ ।
मन्त्री पुनले चिनियाँ राष्ट्रपतिले नेपालमा विपद्पछि राहत सामग्री पठाउन पहल गरेको भन्दै ती सामग्री विपद्प्रभावित क्षेत्रमा विशेषगरी पुनर्निर्माण तथा प्रभावित परिवारलाई आश्रय उपलब्ध गराउन उपयोगी हुने बताए ।
‘चिनियाँ सरकारबाट आएको यी सामग्री विपद्प्रभावित क्षेत्रमा रहेका मानिसहरूका लागि अत्यन्त उपयोगी हुनेछन्। विशेषगरी पुनर्निर्माण र उनीहरूलाई आश्रय उपलब्ध गराउन यी सामग्री महत्वपूर्ण छन्,’ मन्त्री पुनले भने।
उनका अनुसार चीन सरकारले नेपाललाई राहत सामग्रीसँगै आर्थिक सहयोगसमेत उपलब्ध गराएको छ। उक्त सहयोगका विषयमा आफूले नेपालका लागि चिनियाँ राजदूतसँग छलफल गरिरहेको पनि मन्त्री पुनले जानकारी दिए।
मन्त्री पुनले नेपालको उत्तरी क्षेत्रमा प्रारम्भिक चेतावनी प्रणाली (Early Warning System) स्थापना गर्ने विषयमा समेत चीनसँग छलफल भइरहेको बताए। विशेषगरी हिमताल (Glacial Lakes), पहिरो तथा नदी प्रणालीमा आउन सक्ने जोखिमको निगरानी गर्न यस्तो प्रणाली महत्वपूर्ण हुने उनको भनाइ छ।
‘उत्तरी नेपालमा प्रारम्भिक चेतावनी प्रणाली राखेर विशेषगरी हिमताल, पहिरो र अन्य जोखिमको निगरानी गर्ने विषयमा हामी छलफल गरिरहेका छौँ। नदी बेसिनमा बसोबास गर्ने मानिसहरूको सुरक्षाका लागि यो अत्यन्त महत्वपूर्ण छ’ उनले भने।
उद्धारमा चिनियाँ विज्ञको सहयोग
मन्त्री पुनले विपद्प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यका लागि चीनबाट आएको विशेषज्ञ सहयोग पनि नेपालका लागि महत्वपूर्ण रहेको बताए। उनका अनुसार चीनबाट उद्धार टोली हेलिकोप्टरमार्फत नेपाल आइपुगेको छ भने थप चिनियाँ उद्धारकर्मीहरू प्रभावित क्षेत्रमा परिचालन भइरहेका छन्।
‘हिजो हामीले चीनबाट हेलिकोप्टरमार्फत चिनियाँ उद्धार टोली आएको जानकारी पायौँ। आज पनि चार जना चिनियाँ उद्धारकर्मी प्रभावित क्षेत्रमा जाँदै हुनुहुन्छ,’ मन्त्री पुनले बताए। विशेषगरी निर्माणाधीन जलविद्युत् आयोजनाका सुरुङमा फसेका मानिसहरूको उद्धारमा चिनियाँ विशेषज्ञको सहयोग महत्वपूर्ण हुने उनले बताए।
मन्त्री पुनका अनुसार हाल केही जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन् र ती आयोजनाका सुरुङ प्रवेशद्वारहरू बाढी तथा पहिरोका कारण अवरुद्ध भएका छन्। सुरुङभित्र मानिसहरू फसेको अवस्थामा उनीहरूको उद्धारका लागि प्रवेशद्वार खोल्ने काम चुनौतीपूर्ण बनेको उनले बताए।
‘अहिले निर्माणाधीन जलविद्युत् आयोजनाहरूमा सुरुङका प्रवेशद्वार अवरुद्ध भएका छन्। त्यहाँ धेरै मानिसहरू फसेका छन्। प्रवेशद्वार खोल्न चिनियाँ सरकारबाट प्राप्त सहयोग अत्यन्त उपयोगी हुनेछ,’ मन्त्री पुनले भने।
उनले विपद्को समयमा चीनले उपलब्ध गराएको राहत, आर्थिक सहयोग, उद्धार टोली तथा प्राविधिक सहयोगका लागि नेपाल सरकारका तर्फबाट धन्यवाद व्यक्त गरे। मन्त्री पुनले नेपाल र चीनबीच विपद् व्यवस्थापन तथा उद्धारका क्षेत्रमा भइरहेको सहकार्यले प्रभावित नागरिकको उद्धारसँगै भविष्यमा यस्ता विपद्का जोखिम न्यूनीकरण गर्नसमेत योगदान पुर्याउने विश्वास व्यक्त गरे।













