टप एण्ड टी-२०को अन्तिम खेलमा नेपाल पराजित

काठमाडौं । अष्ट्रेलियामा जारी टप एण्ड टी-२० सिरिजको अन्तिम खेलमा नेपाल पराजित भएको छ । शनिबार दिउँसो भएको आफ्नो अन्तिम खेलमा भिक्टोरिया सीए ११ सँग एक विकेटले पराजित हुँदै नेपालले हारसहित प्रतियोगिताको अन्त्य गरेको हो ।

जितको लागि १ सय ४३ रनको विजयी लक्ष्य पछ्याएको भिक्टोरियाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४६ रन बनाउँदै लक्ष्य भेट्टाएको हो । भिक्टोरियाको लागि टोम रोजर्सले ३६, ह्यारी होएक्स्त्राले ३५ र ह्यारी डिक्सनले ३० रन बनाए ।

नेपालको लागे कुशल भुर्तेल र युवराज खत्रीले समान तीन/तीन विकेट लिँदा आकाश चन्दले एक विकेट लिए ।

यसअघि मर्रारा क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४२ रन बनाएको थियो । नेपालको लागि कुशल भुर्तेलले अर्धसतक बनाउँदा अन्य ब्याट्सम्यानले उल्लेखनीय योगदान गर्न सकेनन् । कुशलले ५५ बल खेल्दै ६ चौका र ५ छक्काको मद्दतमा ९० रन बनाए ।

हारसँगै नेपालले ६ खेलबाट ४ अंक जोड्दै सातौँ स्थानमा रहेर सिरिजको अन्त्य गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *