एजेन्सी । क्रिस्टियानो रोनाल्डोले गोल गरेपछि अल नासरले साउदी प्रो लिगमा जित निकालेको छ । शुक्रबार राति भएको खेलमा अल नासरले अल टावनमाथि २-१ गोलको पुनरागमन जित निकालेको हो ।
अल अवाल पार्कमा भएको खेलमा अल नासरलाई जित दिलाउन सामु र रोनाल्डोले समान एक/एक गोल गरे । अल टावनको लागि बासम अल हुराय्जीले एक गोल फर्काए । खेलको ११ औँ मिनेटमा अल हुरायाजीले गोल गर्दै अल टावनलाई शुरुवाती अग्रता दिलाएका थिए ।
पहिलो हाफको इन्जुरी समयमा मानेको पासमा सामुले गोल गर्दै अल नासरलाई १-१ गोलको बराबरीमा ल्याए । ५० औँ मिनेटमा सिमाकनको पासमा रोनाल्डोले गोल गर्दै अल नासरलाई २-१ गोलको जित दिलाएका हुन् ।
जितसँगै अल नासर ४ खेलबाट १२ अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा रहेको छ । समान खेलबाट २ अंक जोडेको अल टावन १५ औँ स्थानमा रहेको छ ।
