काठमाडौँ । नेपाली फाइटर रवीन्द्र ढाँट आज आफ्नो मिक्स मार्सल आर्ट्स (एमएमए) करिअरकै सर्वाधिक ठूलो प्रतिस्पर्धामा उत्रँदैछन् ।
उनले शुक्रबार रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा न्युजिल्यान्डका फाइटर कासिब मर्डोकविरुद्ध प्रतिस्पर्धा गर्दैछन् । रवीन्द्र र कासिबबीचको बहुप्रतीक्षित प्रतिस्पर्धा चीनको साङ्घाईस्थित अक्टागनमा अपराह्न पौने ३ बजेपछि सुरु हुनेछ ।
दुवै फाइटरको प्रोफेसनल एमएमए प्रदर्शन उत्कृष्ट रहेकाले आजको प्रतिस्पर्धा निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।
कस्तो छ रवीन्द्रको एमएमए करिअर ?
‘बझाङ्गी बाघ’ उपनामले चर्चित रवीन्द्रले हालसम्म बान्टमवेट विधामा १० खेल खेलेका छन् । उनले नौ खेलमा जित हात पारेका छन् भने एक खेलमा मात्र पराजय व्यहोरेका छन् ।
रवीन्द्रले एमएमए करिअरमा सन् २०२३ मा इस्माइल खानसँग मात्र हार व्यहोरेका थिए । त्यसपछि भने उनले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।
गत वर्ष भारतको नोएडामा आयोजित म्याट्रिक्स फाइट नाइट–१७ को उपाधि जितेपछि रवीन्द्र अझ चर्चित बने । उनले भारतका चर्चित फाइटर चुनरेङ कोरेनलाई तेस्रो चरणमा नकआउट गर्दै उपाधि जितेका थिए ।
यो जितसँगै उनी म्याट्रिक्स फाइट नाइटको बान्टमवेट उपाधि जित्ने पहिलो नेपाली खेलाडी बने ।
रवीन्द्रले अर्को महत्वपूर्ण जित गत मे महिनामा मकाउमा आयोजित रोड टु युएफसी सिजन–५ को क्वार्टरफाइनलमा निकालेका थिए । उक्त प्रतिस्पर्धामा उनले फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका थिए ।
यससँगै रवीन्द्र रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा पुग्ने पहिलो नेपाली फाइटर बने। उनीसामु आज थप इतिहास रच्ने अवसर छ । यदि कासिब मर्डोकलाई पराजित गर्न सके रवीन्द्र रोड टु युएफसी सिजन–५ को फाइनलमा पुग्ने पहिलो नेपाली फाइटर बन्नेछन् ।
उता, मर्डोक पनि अपराजित यात्रालाई निरन्तरता दिँदै इतिहास रच्ने सङ्घारमा छन् । उनको एमएमए करिअर पनि उत्कृष्ट छ । उनले हालसम्म कुनै पनि खेलमा पराजय व्यहोरेका छैनन् ।
मर्डोकले गत मे महिनामा रोड टु युएफसी सिजन–५ को क्वार्टरफाइनलमा जापानका युनोसुके मिनामीलाई पराजित गर्दै रवीन्द्रसँगको भेट पक्का गरेका थिए ।
रवीन्द्र आजको प्रतिस्पर्धा जित्दै फाइनलमा पुग्ने लक्ष्यका साथ अक्टागनमा उत्रनेछन् । यदि उनले फाइनलसमेत जित्न सके प्रतिष्ठित एमएमए संस्था युएफसीसँग व्यावसायिक सम्झौता गर्ने अवसर पाउनेछन् ।
