प्रज्जवल थापा । चितवनको भरतपुर नगरपालिकामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सहयोगको लागी धुर्मुस सुन्तली फाउन्डेसनले नयाँ अभियानको घोषणा गरेको छ । सोमबार काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गर्दै फाउन्डेसनले ‘हाम्रो रंगशाला मेरो कुर्सि’ अभियान सुरु गरेको हो ।
३० हजार सिट क्षमता रहने रंगशालामा १ लाख रुपैयाँ सहयोग गर्दै रंगशालाको एक कुर्सिमा आफ्नो नाम राख्न सक्ने फाउन्डेसनले जनाएको छ । यस अभियानबाट फाउन्डेसनले ३ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ । व्यक्ति मात्र नभई आफ्नो परिवार, क्लब, संस्था लगायत समुहले पनि ‘हाम्रो रंगशाला मेरो कुर्सि’ अभियान मार्फत सहयोग गर्न सक्नेछन् ।
पत्रकार सम्मेलनमा धुर्मुस सुन्तली फाउन्डेसनले निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामाको आमदानी र खर्च विवरण समेत सार्वजनिक गर्दै हालसम्म परियोजना निर्माणको कुल लागत रकमको ९.१० प्रतिशत संकलन भएको जनाएको हो । हालसम्म ३२ करोड ३० लाख २४ हजार ३ सय ४५ रुपैयाँ मात्र संकलन भएको छ । खर्चभने ४३ करोड ४६ लाख ६ हजार ३ सय खर्च भई सकेको छ भने फाउन्डेसन ११ करोड १७ लाख ८२ हजार ऋणमा छ । रंगशाला निर्माणको लागि कुल लगात ३ अर्व ५५ करोड अनुमान गरिएको छ ।
रंगशालामा ७ वटा प्रदेश र ७७ वटै जिल्लाको पहिचान झल्किने गरि छुट्टाछुट्टै कक्षहरु निर्माण गरिनेछ ।
