प्रज्जवल थापा । वेल्स स्ट्राइकर ग्यारेथ बेल चम्केको खेलमा टोटेन्हामले सहज जित निकालेको छ । आइतबार बेलुकी भएको खेलमा टोटेन्हामले बर्नेलीलाई ४-० गोलले पराजित गरेको हो ।
हट्सपर रंगशालामा भएको खेलमा टोटेन्हामलाई जित दिलाउन ग्यारेथ बेलले दुई, लुकास मोउरा र ह्यारी केनले एक/एक गोल गरे । खेलको दोस्रो मिनेटमै हयुङ मीन सनको पासमा बेलले गोल गर्दै टोटेन्हामलाई अग्रता दिलाएका थिए । १५ औं मिनेटमा बेलको पासमा ह्यारी केनले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए ।

३१ औं मिनेटमा लुकास मोउराले गोल गर्दा टोटेन्हामले पहिलो हाफमा ३-० गोलको अग्रता लिएको थियो । ५५ औं मिनेटमा सनको पासमा ग्यारेथ बेलले व्यक्तिगत दोस्रो गोल गर्दै टोटेन्हामलाई ४-० गोलको सहज जित दिलाए । जितसँगै टोटेन्हाम २५ खेलमा ३९ अङ्क जोड्दै लिगको आठौं स्थानमा उक्लिएको छ ।
