रोम । इटालीमा सशस्त्र लुटेराहरूको एक समूहले बिहीबार दुई घण्टासम्म २५ जनालाई बन्धक बनाई बैङ्कमा रहेको सुन तथा रकम लुटपाटको प्रयास गरेको तर प्रहरीको सावधानीका कारण यसलाई विफल पारिएको इटालीको प्रहरीले जनाएको छ ।
प्रहरीले गरेको सक्रिय कारबाहीपछि लुटेराहरू सुरुङबाट भागेको प्रहरी स्रोतले एएफपीलाई जानकारी गराएको छ ।
तीन लुटेरामध्ये एक जनाले हतियार बोकेर स्थानीय समय अनुसार ११ः३० बजे नेपल्समा फ्रेन्च क्रेडिट एग्रिकोल बैङ्कको शाखामा प्रवेश गरेको स्रोतले जानकारी दिएको छ।
‘लुटेराले ग्राहक र कर्मचारीहरूलाई बन्धक बनाएपछि लगभग दुई घण्टापछि उद्धार गरिएको थियो’ श्रोतले भन्यो । उनीहरूलाई कुनै चोटपटक बिना उद्धार गर्न प्रहरी सफल भएको बताइएको छ।
‘द्रुत प्रतिक्रियाको लागि धन्यवाद । सबै बन्धकहरूलाई दिउँसो १ः३० बजेपछि गम्भीर चोटपटक बिना उद्धार गरियो’ नेपल्स प्रिफेक्टका मिशेल डी बारीले एक विज्ञप्तिमा भनेका छन् ।
घटनास्थलबाट स्थानीय मिडिया फुटेजका अनुसार प्रहरीले बैङ्क भित्र झ्याल तोडेर पसेपछि लुटेराहरु सुरुङबाट भागेको प्रहरी स्रोतले जनाएको छ । चोरहरू कुनै लुटपाट गर्न सफल भए वा थिएनन् भन्ने कुरा तत्काल स्पष्ट भएको छैन।
