तेहरान । संयुक्त राज्य अमेरिकाले इरानमाथि हवाई आक्रमण पुनः सुरु गर्ने चेतावनी दिएको छ ।
तेहरानले मध्यपूर्वमा युद्ध अन्त्य गर्ने सम्झौता स्वीकार गर्न अस्वीकार गरे इरानमाथि नौसैनिक नाकाबन्दी गरिने पनि चेतावनी दिएको छ ।
पाकिस्तानको सेनाका प्रभावशाली प्रमुखले तेहरानमा इरानका शान्ति वार्ताकारहरूको भ्रमण गरेपछि यो चेतावनी आएको हो ।
पाकिस्तानी सेनाका कमाण्डर फिल्ड मार्शल असिम मुनिरले गत हप्ता पाकिस्तानमा भएको पहिलो अमेरिका–इरान बैठकमा इरानी प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएका इरानी संसदका सभामुख मोहम्मद बाघेर गालिबाफसँग भेट गरेको समाचार इरानको सरकारी टेलिभिजनले प्रशारण गरेको थियो ।
अमेरिकी रक्षा मन्त्री हेगसेथले अमेरिकी रक्षा मन्त्रालय पेन्टागनमा आयोजित पत्रकार सम्मेलनमा भने, “यदि इरानले ‘गलत निर्णय’ गर्छ भने अमेरिकाले नाकाबन्दी गर्नेछ र पूर्वाधार र ऊर्जा संरचनालाई ध्वस्त पार्नेछ ।”
यसैबीच, ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेविटले पत्रकारहरूलाई पाकिस्तानी राजधानीमा थप वार्ता हुने सम्भावना रहेको बताइन् ।
“ती छलफलहरू भइरहेका छन्,” लेविटले भनिन्, “हामी सम्झौताको सम्भावनाको बारेमा राम्रो महसुस गर्दछौँ ।”वाशिङ्टनले नयाँ वार्ताको अपेक्षा गरे पनि अमेरिकाले इरानी बन्दरगाहमाथिको नाकाबन्दी कायम राख्ने र अस्थायी युद्धविरामले दिएको दुई हप्ताको समय प्रयोग गरी आफ्ना सेनालाई पुनः शस्त्रीकरण गर्ने चेतावनी दिएको छ ।
अमेरिकी सेनाका शीर्ष अधिकारी जनरल डान केनले नौसैनिक नाकाबन्दी इरानको बन्दरगाहमा जाने वा त्यसबाट आउने सबै जहाजमा लागू हुने बताए । उनले भने, “यदि उनीहरूले यो नाकाबन्दीको पालना गरेनन् भने हामी बल प्रयोग गर्नेछौँ ।”
