रोयटर्स । इजरायल र लेबनानबीच १० दिने युद्धविराम भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा युद्धविराम भएको हो । लेबनानमा युद्धविराम लागू भएसँगै राजधानी बेरुतका केही क्षेत्रमा उत्सवस्वरूप गोली प्रहार र रकेट विस्फोटका आवाज सुनिएका थिए।
यद्यपि, स्थिति अझै नाजुक रहेको छ । लेबनानी सेनाले शुक्रबार बिहान इजरायलले युद्धविराम उल्लंघन गर्दै दक्षिणी गाउँहरूमा छिटफुट गोलाबारी गरेको आरोप लगाएको छ। इजरायली सेनाले यसबारे तत्काल प्रतिक्रिया दिएको छैन, तर आफ्नो फौज क्षेत्रमा तैनाथ रहेको जनाएको छ ।
हिज्बुल्लाहले आफ्ना सैन्य गतिविधिबारे विज्ञप्ति जारी गर्दै अन्तिम आक्रमण युद्धविराम लागू हुनुभन्दा १० मिनेटअघि भएको जनाएको छ । ट्रम्पले पछि सामाजिक सञ्जालमार्फत हिज्बुल्लाहलाई युद्धविरामको पालना गर्न आग्रह गरेका छन्। ‘अब हत्या बन्द गरौं, अन्ततः शान्ति हुनैपर्छ,’ उनले भने ।
यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिका र इरानबीच अर्को चरणको वार्ता सप्ताहन्तमा हुन सक्ने बताएका छन्, जसले इरान युद्ध अन्त्य नजिक पुगेको संकेत दिएको छ । ट्रम्पका अनुसार इरानले २० वर्षभन्दा बढी समयसम्म परमाणु हतियार नबोक्ने प्रस्ताव अघि सारेको छ।
गत सप्ताहन्त पाकिस्तानको इस्लामाबादमा भएको वार्तामा तेहरानको परमाणु कार्यक्रम मुख्य विवादको विषय बनेको थियो । ‘हामी के हुन्छ हेर्छौं, तर इरानसँग सम्झौता गर्न निकै नजिक पुगेका छौं,’ ट्रम्पले ह्वाइट हाउस बाहिर सञ्चारकर्मीसँग भने। पछि नेभाडाको लस भेगासमा उनले युद्ध ‘छिट्टै अन्त्य हुन सक्ने’ बताएका थिए ।
फेब्रुअरी २८ मा अमेरिका–इजरायलको संयुक्त आक्रमणबाट सुरु भएको इरानसँगको युद्धमा हजारौंको ज्यान गएको छ भने तेलको मूल्यमा तीव्र वृद्धि हुँदा अमेरिकी प्रशासनमाथि राजनीतिक दबाब बढेको छ ।
