संसदीय समितिका १२ सभापतिका लागि आज निर्वाचन

काठमाडौं । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिको निर्वाचन आज हुँदैछ । प्रतिनिधिसभाअन्तर्गतका विषयगत समिति र संयुक्त समितिको छुट्टाछुट्टै बैठक दिउँसो १ बजे बस्ने संघीय संसद् सचिवालयले जानकारी दिएको छ । सोही बैठकबाट सभापतिको चयन गरिने जनाइएको छ ।

समितिका सभापतिका लागि बिहीबार मनोनयन दर्ता गरिएको छ । कानुन, न्याय तथा मानवअधिकार समिति सभापतिमा समीक्षा बास्कोटा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापतिमा अशोककुमार चौधरी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समिति सभापतिमा आकृति अवस्थी, राज्यव्यवस्था तथा सुशासन समिति सभापतिमा हरि ढकालको उमेदवारी परेको छ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन सभापतिमा सुम्नीमा उदास, अर्थमा कृष्णहरि बुढाथोकी, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा रहबर अन्सारीको उम्मेदवारी परेको छ ।

लेखा समितिमा कांग्रेसका सांसद भरतबहादुर खड्का, संसदीय सुनुवाइ समिति सभापतिमा बोधनारायण श्रेष्ठ, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिमा रास्वपाबाट डा. ओजस्वी शेरचन र एमालेका गुरु बरालको उम्मेदवारी परेको छ ।

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापतिमा रास्वपाका गणेश कार्की र नेकपाका मदनकुमारी शाह (गरिमा)ले मनोनयन दर्ता गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *