तत्काल पार्टीको सम्पूर्ण एकताका लागि अग्रमोर्चामा अग्रसर हुन गगन थापालाई पूर्णबहादुर खड्काको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको आधिकारिकता विवादका बिषयमा सर्वाेच्च अदालतले आफूहरुलाई निस्सा दिएपछिको ३ दिनका सामाजिक संजालमा पार्टीकै साथीहरूबाट लेखिएका विचार,टीका–टिप्पणी हेर्दा साहृै चिन्तित बनाएको बताएका छन् ।

सोमबार साँझ सामाजिक संजालमार्फत खड्काले यस्तो बताएका हुन् । उनले अहिले प्रथम आवश्यकता नेपाली कांग्रेसको एकता भएको बताएका छन् ।

उनले भनेका छन्, ‘ईतिहासमै देशको राष्ट्रियता अत्यन्त प्रतिकुल र संकटापन्न अवस्थामा पुगेको , लोकतान्त्रिक संविधान धरापमा पार्ने षडयन्त्र भैरहेको अवस्था अनि काँग्रेस पार्टी इतहासमै सबैभन्दा बढी कमजोर र प्रतिकुल अवस्थामा रहेको बेला आजको प्रथम अपरिहार्य आवश्यकता भनेको नेपाली काँग्रेसको सम्पूर्ण एकता हो । यसका लागि हामी बीचमा सहिष्णुता, संवेदनशीलता र सहअस्तित्वको समभाव सृजना गरि संवाद–सहमति अनि यसबाट सुदृढ एकता पूर्बसर्त हो । वर्तमान भीमकाय चुनौतिहरुको सामना गर्नका लागि ।’

उनले यसका लागि पार्टीका नेताहरुलाई कुण्ठाबाट बाहिर निस्कन आग्रह गरेका छन् । उनले भनेका छन्, ‘यसका लागि पार्टीका हामी जिम्मेवार प्रत्येक व्यक्तिले हाम्रा व्यक्तिगत अस्वाभाविक महोत्वाकाङ्क्षा, अहंकार, घमण्ड, प्रतिशोध अनि कुन्ठाबाट मुक्त भएर सामूहिक भावनाबाट पार्टीको सम्पूर्ण एकताका लागि तत्काल निर्णायक अग्रसरताका लागि अघि बढौँ । सम्मानित सर्वाेच्च अदालतको पूर्ण इजलासले पुनरावलोकनको लागि दिएको निस्सा हामीलाई पार्टीको सम्पूर्ण एकता गर्ने अन्तिम अवसर दिएको हो भन्ने हेक्का राखौँ । पार्टी सभापति गगन थापाजीसँग मेरो विशेष– विशेष आग्रह र अनुरोध छ तपाईं हिम्मत र साहसका साथ तत्काल पार्टीको सम्पूर्ण एकताका लागि अग्रमोर्चामा अग्रसर हुनुस्, हामी अरु सबै यसकालागि सहयोगी हौँ र बन्छौ, तर यहानिर स्पष्ट हुन जरुरी छ, “निर्णायक तपाईं हो – तपाईं “ ! पार्टी एकताका लागि वातावरण निर्माण गर्नका लगि पार्टीका र भातृ–शुभेच्छुक संस्थाका सबै तहका नेता साथीहरूलाई विशेष अनुरोध अनि अपील । राष्ट्र रहे – बहुदलिय लोकतन्त्र रहन्छ– पार्टी रहन्छ– अनि त्यसमा हामी रहने ठाउँ रहन्छ नभए–सबै खरानी हुन्छ– हामी सबैमा हेक्का रहोस् । सामाजिक संजालको दोहोरी र गाली गलोजले कहीँ पुगिँदैन यो प्रबृत्ति सबै लागेर बन्द गरौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *