बीसौँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाललाई कास्य पदक

 

काठमाडौँ ।  जापानको इची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डी खेलमा नेपालले कास्य पदक प्राप्त गरेको छ ।

जापानको तोकाइ सिटिजन व्यायामशालामा शुक्रबार भएको सेमिफाइनल खेलमा भारतसँग ४८–२४ अङ्कले पराजित भएसँगै नेपालले कास्य पदकमा चित्त बुझाउनु परेको हो । यसअघि सन् २०२३ मा चीनको हाङजाउमा भएको १९औँ एसियाली खेलकुद प्रतियोगितामा पनि नेपाल भारतसँग नै सेमिफाइनलमा पराजित भएको थियो ।

आजको सेमिफाइनल खेलमा भारतले पहिलो हाफमा ३१–१७ अङ्कको जित निकालेको थियो । भारतले दोस्रो हाफमा १७–७ अङ्कले अग्रता लियो ।

नेपालले यसअघि समूह चरणको खेलमा थाइल्यान्डलाई हराएको थियो भने चाइनिज ताइपेइसँग पराजित भएको थियो । त्यसपछि अन्तिम खेलमा श्रीलङ्कालाई हराएर नेपाल सेमिफाइनलमा पुगेको थियो ।

बीसौँ एसियाली खेलकुद प्रतियोगितामा नेपालको यो दोस्रो पदक हो । यसअघि कराते विधातर्फ नेपालका तेन्जिङ शेर्पाले पुरुष कुमिते ८४ किलो तौल समूहमा कास्य पदक प्राप्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *