झापा। झापामा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार बिर्तामोड नगरपालिका-२ बाह्रकोटीगाउँस्थित भित्री सडक खण्डमा अटो र ट्याक्टर आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
प्रहरीका अनुसार मे १ ह ३८४२ नम्बरको अटो र मे १ त ७१५३ नम्बरको ट्याक्टर एकआपसमा ठोक्किदा अटो चालक तयामुल हकसहित पाँच जना घाइते भएका थिए । घाइतेमध्ये झापा गाउँपालिका-४ भामटोलीकी ३५ वर्षीया सुखि बिवीको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
यस्तै कनकाई नगरपालिका-७ दुर्गापुर बजारस्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । प्रदेश १-०१-०१ प ३९२९ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेकी अर्जुनधारा नगरपालिका-९ की ५० वर्षीया मीरादेवी गौतमलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा घाइते गौतमलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल पठाइएको थियो । उहाँको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक अवाले जानकारी दिए ।
मोटरसाइकल चालक ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका-३ का ३१ वर्षीय गोपाल रम्तेल पनि दुर्घटनामा घाइते भएका छन् । उनको अनुहारमा चोट लागेको र सुरुंगास्थित स्थानीय मेडिकलमा उपचार गरिएको छ । दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
