एजेन्सी । स्पेनिस लिग ला लिगामा क्याटलान क्लब बार्सिलोनाले स्पष्ट ९ अंकको अग्रता लिएको छ । शनिबार राति भएको खेलमा इस्पानियोललाई ४-१ गोलले हराउँदै बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियल म्याड्रिडसँग अग्रता बढाएको हो ।
घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन फेरान टोरेसले दुई तथा लामिने यामाल र मार्कुस राशफोर्डले समान एक/एक गोल गरे । इस्पानियोलको लागि पोल लोजानोले एक गोल फर्काए । खेलको नवौं मिनेटमा टोरेसले गोल गर्दै बार्सिलोनालाई शूरुवाती अग्रता दिलाएका थिए ।
२५ औँ मिनेटमा टोरेसले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । ५६ औँ मिनेटमा पोल लोजानोले गोल गर्दै इस्पनियोललाई २-१ गोलको स्थितिमा ल्याए । ८७ औँ मिनेटमा यामालले गोल गर्दै बार्सिलोनालाई सहज जिततर्फ अगाडि बढाएका थिए । यस्तै ८९ औँ मिनेटमा राशफोर्डले गोल गर्दै बार्सिलोनालाई ४-१ गोलको जित दिलाएका हुन् ।
जितसँगै बार्सिलोना ३१ खेलबाट ७९ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । समान खेलबाट ३८ अंक जोड्दै इस्पनियोल दसौं स्थानमा रहेको छ ।
