पल्सर स्पोर्ट्स अवार्डको पिपल्स च्वाइसमा पाँच खेलाडी मनोनयन

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२’ को पिपल्स च्वाइस विधाका लागि पाँच खेलाडीको मनोनयन सार्वजनिक गरेको छ ।

मञ्चले आगामी भदौ १८ गते आयोजना गर्न लागेको अवार्डको २३औँ संस्करणअन्तर्गत भलिबलकी मीना सुनार, फुटबलकी पूजा राना, करातेकी सानुमाया थिङ, क्रिकेटका शेर मल्ल र मिक्स मार्सल आर्ट्सका रविन्द्र ढाँटलाई पिपल्स च्वाइसका लागि छनोट गरेको हो ।

पिपल्स च्वाइस विधाको भोटिङ पार्टनरका रूपमा यसपटक पनि ‘खल्ती बाई आईएमई’सँग सहकार्य गरिएको छ । यससम्बन्धी सम्झौतामा एनएसजेएफका अध्यक्ष निरञ्जन अधिकारी र खल्ती बाई आईएमईकी म्यानेजर पूजा धामीले हस्ताक्षर गरेका छन् ।

विजेताको टुंगो विभिन्न माध्यमबाट प्राप्त मतका आधारमा लगाइनेछ । कुल मतभारमध्ये खल्तीबाट प्राप्त मतको हिस्सा ५० प्रतिशत हुनेछ भने बाँकी ५० प्रतिशत फेसबुक, राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षक र एनएसजेएफका सदस्यको मतबाट निर्धारण हुनेछ ।

फेसबुकबाट मतदान गर्न चाहनेले एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड तथा पल्सर नेपालको आधिकारिक फेसबुक पेजमार्फत मत दिनुपर्नेछ ।

पिपल्स च्वाइस विधाका विजेताले पुरस्कारस्वरूप पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *