कांग्रेस महाधिवेशन निष्पक्ष बनाउन केसीका पाँच प्रस्ताव

काठमाडौँ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले राष्ट्रिय विषम परिस्थितिमा पार्टीभित्र एकता आवश्यक रहेको भन्दै केन्द्रीय कार्यसमिति बैठकमा पार्टी एकताका लागि पाँचबुँदे प्रस्ताव प्रस्तुत गरेका छन् ।

केसीले विशेष महाधिवेशनको परिधिभित्र रहेर पुरानो र हालको कार्यसम्पादन समितिलाई सभापतिको नेतृत्वमा एकीकृत गर्न प्रस्ताव गरेका छन् ।

उनले पार्टी विधानको सम्बन्धित धारा निलम्बन गरी आवश्यकताअनुसार परामर्शका आधारमा केन्द्रीय कार्यसमितिको संख्या बढाउनुपर्ने बताएका छन्।

त्यस्तै, केन्द्रीय कार्यसमितिको पहिलो बैठकले निष्पक्ष महाधिवेशन सम्पन्न गर्ने सम्पूर्ण अधिकार केन्द्रीय कार्यसम्पादन समितिलाई दिनुपर्ने उनको प्रस्ताव छ।

महाधिवेशन तयारीका लागि निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति र अनुशासन समितिमा आवश्यकताअनुसार थपघट गर्ने अधिकार पनि कार्यसम्पादन समितिलाई दिनुपर्ने केसीले बताएका छन्। महाधिवेशन निष्पक्ष हुने सुनिश्चितता गर्नुपर्ने उनको माग छ।

केसीले १५औँ महाधिवेशन कात्तिक १७ देखि १९ गतेसम्म गर्ने गरी अन्तिम मिति सर्वसम्मत रूपमा तोक्नुपर्ने प्रस्ताव गरेका छन् । उक्त कार्यतालिका कुनै पनि बहानामा सार्न नहुने भन्दै उनले सम्बन्धित समितिले पूर्ण प्रतिबद्धता जनाउनुपर्ने बताएका छन्। केसीले आफूले प्रस्तुत गरेका प्रस्तावमाथि केन्द्रीय कार्यसमितिमा गम्भीर छलफल र संवाद गर्न आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *