काठमाडौँ । नेपाली कांग्रेसले भोटेकोसी बाढीबाट प्रभावित जलविद्युत् आयोजनाका सुरुङमा फसेका तथा सम्पर्कविहीन नागरिकको तत्काल खोज तथा उद्धार गर्न सरकारसँग माग गरेको छ।
पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा आइतबार र सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोरखामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार, राहत, पुनस्र्थापना र पुनर्निर्माणलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएको हो।
कांग्रेसले रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदी प्रणालीमा आएको बाढीबाट बस्ती, सडक, पुल, जलविद्युत् आयोजना, सार्वजनिक सेवा तथा नागरिकको जीविकोपार्जनका आधारमा गम्भीर क्षति पुगेको जनाएको छ।
विशेषगरी माथिल्लो त्रिशूली–१, रसुवागढी, लाङटाङ खोला, चिलिमे, माथिल्लो त्रिशूली–३ ‘ए’ र ‘बी’ लगायतका जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा इन्जिनियर, श्रमिक तथा अन्य नागरिक सम्पर्कविहीन रहेको भन्दै कांग्रेसले उद्धारलाई उच्च प्राथमिकता दिन आग्रह गरेको छ। ती आयोजनाका सुरुङमा खोज तथा उद्धार कार्य अझै जारी रहेको छ ।
कांग्रेसले सुरुङ उद्धारलाई सामान्य विपद् प्रतिकार्यका रूपमा नभई बहुविषयगत प्राविधिक अभियानका रूपमा सञ्चालन गर्नुपर्ने जनाएको छ। नेपाली सेना र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा स्पष्ट कमाण्ड प्रणाली बनाएर प्रत्येक सुरुङका लागि छुट्टाछुट्टै विशेषज्ञ उद्धार योजना बनाउनुपर्ने उसको माग छ।
त्यस्तै, नेपालका अनुभवी जलविद्युत् तथा प्राविधिक विज्ञसँगै अन्तर्राष्ट्रिय विशेषज्ञ र आधुनिक प्रविधिको अधिकतम प्रयोग गर्न कांग्रेसले आग्रह गरेको छ। सम्भावित अन्तिम जीवित व्यक्तिसम्म पुग्ने सबै वैज्ञानिक, प्राविधिक र मानवीय प्रयास पूरा नभएसम्म खोज तथा उद्धार अभियान रोक्न नहुने कांग्रेसको भनाइ छ।
कांग्रेसले बेपत्ता तथा सम्पर्कविहीन व्यक्तिको एउटै आधिकारिक अभिलेख तयार गरी पीडित परिवारलाई नियमित र प्रमाणित सूचना उपलब्ध गराउन पनि माग गरेको छ।
बैठकले बाढी तथा पहिरोबाट क्षतिग्रस्त सडक तत्काल सुरक्षित रूपमा सञ्चालनमा ल्याउन ‘आपत्कालीन सडक पुनःस्थापना कार्यदल’ गठन गर्न माग गरेको छ।
भू–प्राविधिक, जलविज्ञान, संरचना तथा निर्माण क्षेत्रका विज्ञ सम्मिलित कार्यदल बनाएर जोखिमयुक्त क्षेत्रमा सुरक्षित अस्थायी मार्ग खोल्न तथा दीर्घकालीन वैकल्पिक सडक निर्माणको प्रक्रिया पनि अघि बढाउनुपर्ने कांग्रेसले जनाएको छ।
