एजेन्सी । इंग्लिस प्रिमियर लिगमा आर्सनल पराजित भएको छ । शनिबार बेलुकी घरेलु मैदानमा सम्पन्न खेलमा आर्सनल एएफसी बर्नामाउथसँग २-१ गोलले स्तब्ध बनेको हो ।
इमिरेट्स स्टेडियममा भएको खेलमा बर्नामाउथलाई जित दिलाउन जुनियर क्रौपी र एलेक्स स्कटले समान एक/एक गोल गरे । आर्सनलको लागि भिक्टर ग्योकेरेसले एक गोल गरे । खेलको १७ औँ मिनेटमा क्रोपीले गोल गर्दै बर्नामाउथलाई शुरूवाती अग्रता दिलाएका थिए ।
३५ औँ मिनेटमा ग्योकेरेसले गोल गर्दै आर्सनललाई १-१ गोलको बराबरीमा ल्याए । ७४ औँ मिनेटमा एलेक्सले गोल गर्दै बर्नामाउथलाई २-१ गोलको अग्रता दिलाए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा आर्सनल २-१ गोलले पराजित भएको हो ।
पराजित भएसँगै आर्सनलले शीर्ष स्थानमा आफ्नो अग्रता बढाउने मौका गुमाएको छ । हाल आर्सनल ३२ खेलबाट ७० अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा यथावत रहेको छ । समान खेलबाट ४५ अंक जोडेको बर्नामाउथ नवौं स्थानमा रहेको छ ।
