एजेन्सी । इन्डियन प्रिमियर लिग(आईपीएल)मा राजस्थान रोयल्सले लगातार चौथो जित निकालेको छ । शुक्रबार बेलुकी भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुलाई ६ विकेटले पराजित गरेको हो ।
जितको लागि २ सय २ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले १८ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । राजस्थानलाई जित दिलाउन ध्रुव जुरेल र वैभव सोर्यवंशीले विस्फोटक ब्याटिङ गरे । जुरेलले ४३ बलमा ८ चौका र ३ छक्काको मद्दतमा ८१ रन बनाउँदा सोर्यवंशीले २६ बलमा ८ चौका र ७ छक्काको मद्दतमा ७८ रन बनाए । यस्तै रविन्द्र जडेजाले २४ र यशस्वी जैसवालले १३ रन बनाए ।
बैंगलुरुको लागि जोश हजेल्वुड र कुर्नाल पान्ड्यले समान दुई/दुई विकेट लिए ।
यसअघि गुवाहाटीमा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको बैंगलुरुले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २ सय १ रन बनाएको थियो । बैंगलुरुको लागि कप्तान रजत पतिदरले अर्धसतक बनाए । उनले ४० बलमा ४ चौका र ४ छक्काको मद्दतमा ६३ रन बनाए । यस्तै विराट कोहलीले ३२, भेन्कातेश आयरले नटआउट २९, रोमारियो शेफर्डले २२, देभदत्त पडिक्कलले १४, टिम डेभिडले २२ र भुवनेश्वर कुमारले नटआउट ९ रन बनाए ।
राजस्थानको लागि जोफ्रा आर्चरम रवि विश्नोई र ब्रिजेश शर्माले समान दुई/दुई विकेट लिँदा सन्दीप शर्मा र रविन्द्र जडेजाले एक/एक विकेट लिए ।
जितसँगै राजस्थान ४ खेलबाट ८ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । समान खेलबाट ४ अंक जोडेको बैंगलुरु तेस्रो स्थानमा रहेको छ ।
