काठमाडौं । प्रधानमन्त्री कप पुरुष एकदिवसीय प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ क्लब र बागमती प्रदेश विजयी भएका छन् । शुक्रबार दिउँसो भएको खेलमा कर्णाली प्रदेशलाई ५ रनले पराजित गर्दै एपीएफले प्रतियोगितामा चौथो जित निकालेको हो ।
जितको लागि २ सय २५ रनको विजयी लक्ष्य पछ्याएको कर्णालीले ४९.५ ओभरमा अलआउट हुँदै २ सय २० रनमा समेटिएको हो । कर्णालीको लागि ओपनरद्वय सुमन श्रेष्ठ र अंकित सुवेदीले अर्धसतक बनाएपनि अन्य ब्याट्सम्यानले उल्लेखनीय योगदान गर्न नसक्दा कर्णाली झिनो हार बेहोर्न पुगेको हो । कर्णालीका अंकितले ६७ बलमा ११ चौका र एक छक्कासहित सर्वाधिक ७२ रन बनाउँदा सुमन श्रेष्ठले ६५ रन बनाए । उनले १ सय ३२ बलमा ५ चौका बनाए । यस्तै रोहण शाहले ३२ र आशिष मगरले १७ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
एपीएफको लागि अविशेक गौतमले चार, रोहित पौडेलले दुई तथा भुवन कार्की र अमर राउटेलाले समान एक/एक विकेट लिए ।
यसअघि जनकपुरस्थित रामजानकी बहुउद्देश्यीय स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको एपीएफले ४७.५ ओभरमा अलआउट हुँदै २ सय २५ रन बनाएको थियो । एपीएफको लागि सन्दीप जोरा र सुमित महर्जनले अर्धसतक बनाए । सन्दीपले ९४ बलमा ८ चौका र एक छक्काको मद्दतमा ७२ रन बनाउँदा सुमित महर्जनले ७३ बलमा ६ चौका र एक छक्काको मद्दतमा ५७ रन बनाए । यस्तै अमर रौटेलाले २७, कप्तान रोहित पौडेलले २० र युवराज खत्रीले ११ रन बनाए ।
कर्णालीका सुजन थपलियाले तीन तथा विपिन महतो र दिपेश कँडेलले दुई/दुई विकेट लिए । रोहित शाहको नाममा एक विकेट रह्यो ।
जितसँगै एपीएफ ८ खेलबाट ९ अंक जोड्दै अंकतालिकाको पाँचौ स्थानमा रहेको छ । समान खेलबाट तीन अंक जोडेको कर्णाली नवौं स्थानमा रहेको छ ।
आजै भएको अर्को खेलमा बागमती प्रदेशले मधेश प्रदेशलाई ३५ रनले हराएको हो । विरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको बागमतीले ४८.४ ओभरमा २ सय ८ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको मधेशले ३४.३ ओभरमा १ सय ७३ रनमात्र बनाउन सक्यो ।
मधेशलाई कम स्कोरमा रोक्न प्रतिष जिसीले ९.३ ओभरमा ५५ रन दिएर पाँच विकेट लिए ।
जितसँगै बागमती ८ खेलबाट ८ अंक जोड्दै तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको मधेश ९ अंकको साथ चौथो स्थानमा रहेको छ ।
