प्रज्जवल थापा । इङलिस क्लब आर्सनल युरोपा लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति भएको अन्तिम ३२ को दोस्रो लेगमा आर्सनलले बेन्फिकालाई ३-२ गोल अन्तरले पराजित गरेको हो । जितसँगै आर्सनल समाग्रमा ४-३ को जित निकाल्दै अन्तिम १६ को टिकट काटेको हो ।
घरेलु मैदान इमिरेट्स रंगशालामा भएको खेलमा आर्सनललाई जित दिलाउन पिरे अम्रिक औबमियाङले दुई र किएरान टिएर्निले एक गोल गरे । बेन्फिकाको लागि डिएगो गोन्काभेज र राफा सिल्भाले एक-एक गोल गरे । म्यान्चेस्टर युनाइटेडपनि रियल सोसिडाडमाथि समाग्रमा ४-० गोलको जित निकाल्दै अन्तिम १६ मा पुगेको छ ।

यस्तै इटालियन टोली नेपोली भने अन्तिम ३२ बाटै बाहिरिएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा ग्रानाडामाथि २-१ गोलको जित निकालेपनि समाग्रमा ३-२ गोलको हारसँगै अन्तिम १६ मा पुग्नबाट बन्चित भएको हो । अन्य इटालियन क्लब एसी मिलान र रोमाले भने अन्तिम १६ मा आफ्नो स्थान पक्का गरेका छन् । गएराति भएको खेलमा रोमाले ब्रागालाई ३-१ र समाग्रमा ५-१ गोलले पराजित गरेको हो ।
यस्तै एसी मिलान भने एफके क्रिभेनामाथी अवे गोलको आधारमा जित निकाल्दै अर्को चरण प्रवेश गरेको हो । बिहिबार राति भएको खेलमा मिलान १-१ र समाग्रमा ३-३ गोलको बराबरीमा रोकिएपनि अवे गोलको आधारमा अन्तिम १६ मा प्रवेश गरेको हो ।
