दोस्रो दिनमै सकियो टेस्ट खेल, भारत १० विकेटले विजयी

प्रज्जवल थापा । भारत र इङल्याण्डबिच भएको तेस्रो टेस्ट खेल दोस्रो दिनमै समाप्त भएको छ । बुधबारबाट अहमदाबादमा शुरु तेस्रो टेस्टमा भारतले इङल्याण्डमाथि १० विकेटको शानदार जित निकालेको हो । यससँगै चार खेलको टेस्ट सिरिजमा भारतले २-१ को अग्रता लिएको छ ।

जितको लागी ४९ रनको झिनो लक्ष्य पछ्याएको भारतले ७.४ ओभरमा बिना विकेटको क्षतिमा ४९ रन बनाउँदै लक्ष्य भेट्याएको हो । भारतको लागि रोहित शर्माले २५ र शुभ्मन गिलले १५ रन जोडे ।

दोस्रो इनिङ्समापनि भारतको स्पिनसँग इङ्ल्याण्डको ब्याटिङले घुडा टेकेको थियो । इङ्ल्याण्ड ३०.४ ओभरमा ८१ रनमा अलआउट भएको हो । इङ्ल्याण्डको लागि बेन स्टोक्सले २५, नोए रुटले १९ र ओलि पोपले १२ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् ।

भारतको लागि अक्सर पटेलले ५ विकेट लिँदा रविचन्द्रन अश्विनले ४ र वासिङटन सुन्दरले एक विकेट लिए ।

यसअघि नरेन्द्र मोदि रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ गर्न उत्रिएको इङ्ल्याण्ड ४८.४ ओभरमा अलआउट हुँदै ११२ रन जोडेको थियो । इङ्ल्याण्डको लागि ज्याक क्रावले अर्धसतक सहित ५३ रन जोड्दा अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् ।

भारतको लागि अक्सर पटेलले २१.४ ओभर बलिङ गर्दै ६ मेडन राख्दै ३८ रन खर्चेर ६ विकेट लिए । यस्तै रविचन्द्रन अश्विनले ३ र इशान्त शर्माले एक विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको भारतलेपनि गतिलो प्रदर्शन गर्न सकेन । भारत ५३.२ ओभरमा १४५ रन जोड्दै अलआउट हुँदै ३३ रनको अग्रता लिएको थियो । भारतको लागि ओपनर रोहित शर्माले सार्वधिक ६६ रनको योगदान गरे । यस्तै कप्तान विराट कोहलीले २७, अश्विनले ११ र इशान्त शर्माले १० रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् ।

दुई टोलीबिच चौथो अर्थात अन्तिम टेस्ट मार्च ४ मा शुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *