कुशल मल्लको शानदार अर्धसतकमा आर्मी विजयी

काठमाडौं । कुशल मल्लले अर्धसतक बनाएपछि त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कपमा जित निकालेको छ । आइतबार दिउँसो भएको खेलमा बागमती प्रदेशलाई ३ विकेटले पराजित गर्दै आर्मीले प्रतियोगितामा तेस्रो जित निकालेको हो ।

वर्षाको कारण २८ ओभरमा झारिएको खेलमा बागमतीले ७ विकेटको क्षतिमा २ सय ८ रन बनाएको थियो । बागमतीको लागि आशुतोष घिराइयाले ३८, पवन थापाले ३५ तथा विवेक मगर र सोनु देवकोटाले समान ३०/३० रन बनाए । प्रतिष जिसीले २८ र कप्तान सन्दीप लामिछानेले २१ रन बनाए ।

आर्मीको लागि नरेन साउदले ६ ओभरमा २६ रन दिएर चार विकेट लिँदा शाहाब आलम, दुर्गेश गुप्ता र बासिर अहमदले समान एक/एक विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको आर्मीले २७.५ ओभरमा ७ विकेटको क्षतिमा २ सय १० रन बनाउँदै लक्ष्य भेट्टाएको हो । आर्मीको लागि कुशल मल्लले सर्वाधिक ९० रन बनाए । उनले ५८ बलमा ८ छक्का र तीन चौका प्रहार गरे । यस्तै त्रित राज दासले ५४, नरेन साउदले २६ र अर्जुन साउदले १४ रन बनाए ।

बागमतीको लागि इशान पाण्डे र विवेक मगरले दुई/दुई तथा रिजन ढकाल, सन्दीप लामिछाने र सोनु देवकोटाले एक/एक विकेट लिए ।

जितसँगै आर्मी ४ खेलबाट ७ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । समान खेलबाट २ अंक जोडेको बागमती नवौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *