पहिलो लेगमा बार्यन म्युनिखको सहज जित

प्रज्जवल थापा । युईएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा बार्यन म्युनिखले सहज जित निकालेको छ । गएराति भएको खेलमा बार्यनले लाजियोलाई उसैको घरेलु मैदानमा ४-१ गोलले पराजित गरेको हो ।

स्टेडियो ओलम्पिकोमा भएको खेलमा बार्यनलाई जित दिलाउन रोबर्ट लेवान्डोस्की, जामल मुसिएला, लोरि सानेले एक/एक गोल गर्दा एक गोल उपहार पाएको थियो । लाजियोको लागि जोएक्विन कोरेराले गरेको गोल सान्त्वनामा सिमित रह्यो । नवौं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्यन म्युनिखलाई खेलमा अगाडि बढाएका थिए ।

२४ औं मिनेटमा लियोन गोरेटज्काको पासमा जामल मुसिएलाले गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर बनाए । ४२ औं मिनेटमा कोमानको पासमा सानेले गोल गर्दै बार्यनलाई पहिलो हाफमा ३-० गोलको अग्रता दिलाए । यस्तै दोस्रो हाफको ४७ औं मिनेटमा फ्रेन्सिस्को एकेर्बीले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि बार्यन ४-० गोलले अगाडि बढेको थियो ।

४९ औं मिनेटमा जोएक्विन कोरेराले गोल गर्दै घरेलु टोलीलाई ४-१ गोलको स्थितीमा ल्याएका थिए । तर बाँकी समयमा थप गोल गर्न नसक्दा लाजियो ४-१ गोलको हार बेहोर्न बाध्य भयो । जितसँगै बार्यन क्वाटर फाइनलको एक पाइला नजिक पुगेको छ । अब बार्यनले घरेलु मैदानमा मार्च १७ मा हुने दोस्रो लेगमा लाजियोको अतिथ्य गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *