एजेन्सी । स्पेनिस लिग ला लिगामा रियल म्याड्रिडले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा इल्चेलाई ४-१ गोलले हराउँदै म्याड्रिडले शीर्ष स्थानमा रहेको बार्सिलोनासँग अंक दुरी घटाएको हो ।
इस्टाडियो सान्टियागो बेर्नाबेउमा भएको खेलमा म्याड्रिडलाई जित दिलाउन एन्टोनियो रुडिगर, फेडेरिको भाल्भेर्डे, डिन हुज्सेन र आर्दा गुलेरले समान एक/एक गोल गरे । इल्चेले एक गोल उपहार पाएको हो । खेलको ३९ औँ मिनेटमा रुडिगरले गोल गर्दै म्याड्रिडलाई शुरूवाती अग्रता दिलाएका थिए ।
४४ औँ मिनेटमा फ्रान गार्सियाको पासमा भाल्भेर्डेले गोल गर्दै म्याड्रिडको अग्रता दोब्बर बनाए । ६६ औँ मिनेटमा डानियल यानेजको क्रसमा हुज्सेनले गोल गर्दै म्याड्रिडलाई सहज जिततर्फ अगाडि बढाएका थिए । ८५ औँ मिनेटमा मानुयल एन्जलले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि इल्चेले एक गोल उपहार पाएको थियो ।
यस्तै ८९ औँ मिनेटमा आर्दा गुलेर ६० यार्ड टाढाबाट शानदार गोल गर्दै म्याड्रिडलाई ४-१ गोलको जित दिलाएका हुन् ।
जितसँगै रियल म्याड्रिड २८ खेलबाट ६६ अंक जोड्दै अंकतालिकाको दोस्रो स्थानमा रहेको छ भने समान खेलबाट २६ अंक जोडेको इल्चे १७ औँ स्थानमा रहेको छ ।
