गोरखा । प्रथम पृथ्वीनारायण गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस फुटबल क्लबले जितेको छ ।
जिल्ला खेलकुद विकास समिति गोरखाको आयोजनामा माघ २४ गतेदेखि सुरु भएको प्रतियोगिताअन्तर्गत आज भएको फाइनल खेलमा चित्लाङ एफसीलाई १—० ले हराउँदै पुलिस क्लबले उपाधि जितेको हो ।
विजेता पुलिस क्लबले रु आठ लाख नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता चित्लाङ एफसीले नगद रु चार लाख पुरस्कार प्राप्त गरेको आयोजकले जनाएको छ ।
गोरखा नगरपालिका–१० छेवेटारस्थित खेलमैदानमा भएको प्रतियोगितामा ‘ए’ डिभिजनका सातवटा क्लब र आयोजक टोली गरी आठ टोलीबीच प्रतिस्पर्धा भएको थियो ।
सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब, नेपाल पुलिस क्लब, सातदोबाटो युवा क्लब, श्री भगवती क्लब, सङ्कटा एफसी, प्लानिङ ब्वाइज युनाइटेड, चित्लाङ एफसीलगायतले प्रतियोगितामा सहभागिता जनाएको आयोजकको भनाइ छ ।
यहाँ हालसम्मको ठूलो राशि मानिएको प्रतियोगिता व्यवस्थापनमा करिब रु ८२ लाख खर्च भएको आयोजक खेलकुद विकास समितिका अध्यक्ष प्रेमबहादुर तामाङले जानकारी दिए ।
