पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न प्रहरीका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश अच्युत कुइँकेलको एकल इजलासले बुधबार श्रेष्ठलाई मुद्दाको अन्तिम टुंगो नलागेसम्म पक्राउ, धरपकड वा थुनामा नराख्न आदेश दिएको हो ।

जनआस्था साप्ताहिकमा प्रकाशित समाचारलाई लिएर जिल्ला प्रहरी परिसर ललितपुरमा उजुरी परेपछि आफू पक्राउ पर्न सक्ने भन्दै श्रेष्ठले उच्च अदालतमा निषेधाज्ञासहितको रिट निवेदन दायर गरेका थिए ।

रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले श्रेष्ठको वैयक्तिक स्वतन्त्रतामा असर पर्ने अवस्था देखिएको भन्दै तत्काल पक्राउ नगर्न आदेश दिएको हो । अदालतको आदेशसँगै रिटको अन्तिम फैसला नभएसम्म श्रेष्ठमाथि पक्राउ तथा धरपकडको प्रक्रिया अघि बढाउन प्रहरीलाई रोक लागेको छ ।

जनआस्थामा प्रकाशित समाचार सामग्रीलाई लिएर उपसभामुख रुवीकुमारी ठाकुरले ललितपुर प्रहरीमा उजुरी गरेकी थिइन् । उक्त उजुरीका आधारमा प्रहरीले श्रेष्ठलाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो ।

तर, ललितपुर अदालतले आवश्यक कागजात पूरा नभएको भन्दै प्रहरीको मिसिल फिर्ता गरिदिएको थियो । त्यसपछि श्रेष्ठले आफ्नो पक्राउको सम्भावना र वैयक्तिक स्वतन्त्रताको संरक्षणको माग गर्दै उच्च अदालतमा रिट दायर गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *