सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेकपा एमालेबाट तीन मन्त्री थपिएका छन् । मन्त्रालय बाँडफाँटमा सत्तारुढ एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच सहमति जुटेपछि बुधबार प्रदेश मन्त्रिपरिषद् विस्तार गरिएको हो ।
एमालेका तर्फबाट टेकराज पछाईले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यस्तै, जितबहादुर मल्ल सामाजिक विकासमन्त्री र कलबहादुर हमाल जलस्रोत तथा ऊर्जा विकासमन्त्री बनेका छन् ।
नवनियुक्त तीनै मन्त्रीलाई बुधबार साँझ प्रदेश प्रमुख यज्ञराज जोशीले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
सत्तारुढ दुई दलबीच भएको मन्त्रालय बाँडफाँटअनुसार एमालेको भागमा तीन मन्त्रालय परेको थियो । एमालेले आफ्नोतर्फबाट मन्त्रीको नाम टुंगो लगाए पनि नेकपाले भने अझै मन्त्री छनोट गरिसकेको छैन ।
मन्त्रालय बाँडफाँटमा लामो समयदेखि देखिएको असमझदारी बुधबार मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि अन्त्य भएको थियो । सहमति जुटेसँगै तीन सातापछि कर्णाली प्रदेश मन्त्रिपरिषद्ले पूर्णता पाउने प्रक्रिया अघि बढेको हो ।
