प्रज्जवल थापा । स्पेनिस लिग ला लिगामा आज रियल म्याड्रिड र रियल भाल्लाडोलिड भिड्दै छन् । भाल्लाडोलिडको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राति १:४५ बजे शुरु हुनेछ ।
रियल म्याड्रिड आजको खेल जित्दै आफ्नो विजयी यात्रालाई निरन्तरता दिन चाहन्छ । चोटको कारण अर्का प्रमुख खेलाडी करिम बेन्जिमाले आजको खेल गुमाउनेछन् । हाल म्याड्रिड २३ खेलमा ४९ अङ्क जोड्दै लिगको दोस्रो स्थानमा छ । जुन एक खेल कम खेलेको शिर्ष स्थानको एथ्लेटिकोको भन्दा ६ अङ्क कम हो ।
यस्तै घरेलु मैदानमा हुने खेल जित्दै भाल्लाडोलिड रेलिगेसन क्षेत्रबाट बाहिर निस्किन चाहन्छ । हाल भाल्लाडोलिड २३ खेलमा २१ अङ्क जोड्दै लिगको १८ औं स्थानमा छ ।
दुई टोलीबिच भएको पछिल्लो ९ भेटमा ७ खेल म्याड्रिडले जितेको छ भने दुई खेल बराबरीमा सकिएको थियो ।
