काठमाडौं । चीनको नयाँ वर्षको अवसरमा आयोजित मैत्रीपूर्ण फुटबल खेलमा नेपाल यु–२० महिला टोली विजयी भएको छ । शनिबार दिउँसो भएको खेलमा नेपालले चीनको युनान प्रान्तको टोलीलाई ३–१ गोलले पराजित गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालको लागि सुक्रिया मिया, कप्तान बिर्सना चौधरी र सजनी स्याङ्तानले समान एक/एक गोल गरेका हुन् ।
एन्फा, युनान विश्वविद्यालयको शारीरिक शिक्षा संकाय तथा नेपाल ओभरसिज चिनियाँ संघको सयुक्त आयोजनामा तथा चिनियाँ राजदूतावास र राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा मैत्रीपूर्ण खेल भएको हो ।
प्रतियोगिताको उद्घाटन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले गरेकी थिइन् । कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव लोकनाथ पौड्याल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य रामचरित्र मेहता, एन्फा महासचिव किरण राईसहित नेपालस्थित चिनियाँ राजदूतावासका विशिष्ट पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
मैत्रीपूर्ण खेलअघि नेपाल र चीनका विविध सांस्कृतिक पहिचान झल्काउने सांस्कृतिक प्रस्तुतिहरू समेत प्रदर्शन गरिएको थियो ।
