कास्की । पोखरा रङ्गशालाभित्रको फुटबल रङ्गशालामा शनिबारदेखि सुरु हुने दक्षिण एसियाली खेलकुद महासङ्घ (साफ) यु–१९ महिला च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको छ ।
प्रतियोगिताको उद्घाटन खेल बङ्गलादेश र भुटानका बीच दिउँसो १२ बजे हुनेछ । यसैगरी आयोजक नेपालले दिउँसो ३ बजे भारतसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताका लागि सहभागी चार वटै देश तयार भएका छन् । नेपालसहित भारत, भुटान र बङ्गलादेशले उपाधिका लागि प्रतिस्पर्धा गर्ने आयोजक अखिल नेपाल फुटबल सङ्घले जनाएको छ ।
पोखरामा शुक्रबार आयोजित ‘प्रिम्याच कन्फ्रेन्स’मा उपस्थित चारै देशका प्रशिक्षक र टोलीका कप्तानले टोलीका युवा खेलाडीबाट राम्रो खेलको अपेक्षा गरिएको र उपाधि जित्ने योजना रहेको सुनाए ।
नेपाली यु–१९ महिला टोलीका मुख्य प्रशिक्षक सुमन श्रेष्ठले सकारात्मक नतिजाका लागि टोली प्रतिबद्ध रहेको बताए। ‘तयारी राम्रै भएको छ । घरेलु मैदान र समर्थकको साथ छ, पक्कै राम्रो रिजल्ट दिनेछौँ’, श्रेष्ठले भने ।
प्रतियोगितामा सहभागी चारवटै टोलीको उत्तिकै सम्भावना रहेकाले कुनै पनि टोली कमजोर नरहेको प्रशिक्षक श्रेष्ठले बताए । कप्तान सुशीला केसीले छोटो समयमा धेरै कुरा सिकेको बताइन् । उनले भनिन्,’घरेलु मैदानमा भएकाले राम्रो रिजल्ट ल्याउनेछौँ, छोटो समयमा धेरै सिकेका छौँ, सुधार भएको छ । राम्रो फुटबल खेल्नेछौँ ।’
बङ्गलादेशका प्रशिक्षक बेटर बटलरले प्रतियोगिताले नयाँ खेलाडीहरुलाई अवसर र सिक्ने मौका प्रदान गरेको बताए । भारतकी प्रशिक्षक पामेला कोन्टीले युवा खेलाडीले राम्रो प्रदर्शन गर्नेमा आफू आशावादी रहेको बताइन् । युवा खेलाडी अत्यन्त उत्साहित रहेकाले उपाधि जित्ने लक्ष्य रहेको उनले बताइन् । नेपालसँगको खेल कठिन हुने प्रशिक्षक पामेलाले अनुमान गरिन् ।
भुटानकी प्रशिक्षक टङ्का माया घल्लीले युवा टोलीले अवसर पाएकाले राम्रो तयारी गरेर आएको बताइन् । उपाधिमा मात्र केन्द्रित नभई महिला टोलीको स्तर विकासमा ध्यान दिएको प्रशिक्षक घल्लीले बताइन् ।
दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को समन्वय तथा अखिल नेपाल फुटबल महासङ्घ (एन्फा) को आयोजनामा हुने प्रतियोगिता ‘राउण्ड रोबिन लिग’ प्रणालीमा सञ्चालन हुनेछ । जहाँ प्रत्येक टोलीले अन्य टोलीसँग एक–एक खेल खेल्नेछ ।
लिग चरणपछि शीर्ष दुई टोलीले माघ २४ मा हुने फाइनल खेलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितालाई दर्शकहरुको सहजताका लागि सामान्य प्यारापिटतर्फ २०० र भिआइपीतर्फ ५०० रुपैयाँको टिकटको व्यवस्था गरिएको एन्फाले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब दुई करोड ४५ लाख १५ हजार २९० रुपैयाँ खर्च लाग्ने बताइएको छ ।
