प्रज्जवल थापा । विभागीय टोली नेपाल एपिएफ क्लबले राष्ट्रिय महिला लिगको उपाधी जितेको छ । बुधवार दिउँसो भएको खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले १-१ गोलको बराबरी खेलेसँगै एपिएफ दुई खेल अगावै च्याम्पियन भएको हो ।
आर्मीले आजको खेलमा पुलिसलाई पराजित गरेको भए उपाधीको छिनोफानो एपिएफको अर्को खेलबाट हुने थियो तर दुई टोलीले बराबरी खेलेपछि एपिएफ च्याम्पियन भएको हो । पहिलो हाफको १७ औं मिनेटमा अमृता जैसीको हेडर विपक्षी खेलाडी विमला विकलाई लाग्दै गोल भएपछि पुलिसले खेलमा अग्रता लिएको थियो । ५३ औं मिनेटमा रश्मी कुमारी घिसिङले गोल गर्दै आर्मीलाई बराबरीमा ल्याइन् । तर बाँकी समयमा थप गोल गर्न नसक्दा आर्मी बराबरीमा रोकिन बाध्य भयो ।
बराबरीसँगै आर्मीले दोस्रो स्थानमा रहेर लिगको अन्त्य गर्ने पक्का भएको छ । हाल आर्मी ११ खेलमा २६ अङ्क जोड्दै लिगको दोस्रो स्थानमा रहेको छ । पराजित पुलिस ११ खेलमा १५ अंकसहित चौथो स्थानमा रहेको छ ।
