प्रज्जवल थापा । युईएफए च्याम्पियन्स लिग अन्तर्गत आज हुने खेलमा इटालियन च्याम्पियन युभेन्टसले पोर्चुगिज क्लब एफसी पोर्टोको सामना गर्दै छ । स्टेडियो डो ड्रागोमा हुने अन्तिम १६ को पहिलो लेग नेपाली समय अनुसार राती १:४५ बजे शुरु हुनेछ ।
क्याप नोउमा बार्सिलोनालाई ३-० गोल अन्तरले पराजित गर्दै समुहको शिर्ष स्थानमा रहेर समूह चरण पार गरेको युभेन्टस आजको खेल जित्दै नकआउट चरणको उत्कृष्ट शुरुवात गर्न चाहन्छ । च्याम्पियन्स लिगका सार्वधिक सफल स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको साथ पाएको युभेन्टस यस पटक उपाधी जित्ने लक्ष्य राखेको छ । युभेन्टसले पछिल्लो २५ वर्ष देखि च्याम्पियन्स लिगको उपाधी जित्न सकेको छैन । पछिल्लो पटक युभेन्टस सन् २०१७ मा लिगको फाइनल पुगेको थियो । उक्त फाइनलमा युभेन्टस रियल म्याड्रिडसँग ४-१ गोलले पराजित भएको थियो ।
यता पोर्टोपनि आजको खेलमा सकारात्मक नतिजा निकाल्दै प्रतियोगितामा आफ्नो दाबेदारी प्रस्तुत गर्न चाहन्छ । पोर्टो म्यान्चेस्टर सिटीको समुहबाट दोस्रो स्थानमा रहेर नकआउट चरण प्रवेश गरेको थियो । सबै प्रतियोगितामा गरि पोर्टोले पछिल्लो ४ खेलमा जित निकाल्न सकेको छैन । सन् २०१७ मा दुई टोलीबिच भएको दुवै खेल युभेन्टसले जितेको थियो ।
