प्रज्जवल थापा । राष्ट्रिय महिला लिगमा चौदण्डीगढी नगरपालिका उदयपुरले लगातर एघार हार बेहोरेको छ । मंगलबार दिउँसो भएको खेलमापनि चौदण्डीगढी चन्द्रपुर नगरपालिका रौतहटसँग २-१ गोल अन्तरले पराजित भएको हो ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा चन्द्रपुरलाई जित दिलाउन रजनी ठोकार र डिल कुमारी रानाले एक/एक गोल गरिन् । चौदण्डीगढीको लागि मनिता तमाङले एक गोल गरेपनि हार टार्न सकेन । पहिलो हाफको अतिरिक्त समयमा चन्द्रपुरकी रनजीको प्रहार विपक्षी गोलरक्षक देविकाले राम्रोसँग बचाउन नसक्दा बलले पोस्टको दिशा लिएको थियो ।
६७ औं मिनेटमा दिल कुमारीको प्रहार देविकाले फेरी अर्को गल्ती गर्दा चन्द्रपुरले खेलमा अग्रता दोब्बर बनाएको थियो । त्यसको एक मिनेटपछि मनिता तामाङले गोल गर्दै चौदण्डीगढीलाई खेलमा फर्काउने प्रयास गरेकी थिइन् । तर बाँकी समयमा थप गोल गर्न नसक्दा चन्द्रपुर २-१ गोलले विजयी भएको भयो ।
जितसँगै चन्द्रपुर ११ खेलमा ९ अङ्क जोड्दै लिगको छैटौं स्थानमा रहेको छ । लिगमा अहिलेसम्म अङ्कको खाता खोल्न नसकेको चौदण्डीगढी तालिकाको पुछारमा रहेको छ ।
तस्बिर:- एन्फा
