एजेन्सी । फरवार्ड किलियन एम्बाप्पेको कीर्तिमानी गोलको मद्दतमा रियल म्याड्रिडले स्पेनिस लिग ला लिगामा जित निकालेको छ । शनिबार राति भएको खेलमा म्याड्रिडले १० खेलाडीमा समेटिएको सेभिल्लालाई २-० गोलले पराजित गरेको हो ।
इस्टाडियो सान्टियागो बेर्नाबेउमा भएको खेलमा रियल म्याड्रिडलाई जित दिलाउन जुड बेल्लिन्घाम र किलियन एम्बाप्पेले समान एक/एक गोल गरे । खेलको ३८ औँ मिनेटमा बेल्लिन्घामले गोल गर्दै रियल म्याड्रिडलाई शुरूवाती अग्रता दिलाएका थिए । ६८ औँ मिनेटमा मार्काओ रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि सेभिल्ला १० खेलाडीमा समेटिएको थियो ।
यस्तै ८६ औँ मिनेटमा एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै म्याड्रिडलाई २-० गोलको जित दिलाएका हुन् । यस गोल गर्दै एम्बाप्पेले एक वर्षमा रियल म्याड्रिडको लागि सर्वाधिक ५९ गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमानसँग बराबरी गरेको हुन् ।
जितसँगै म्याड्रिड १८ खेलबाट ४२ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा रहेको छ । समान खेलबाट २० अंक जोडेको सेभिल्ला नवौं स्थानमा रहेको छ ।
