अमेरिका–इरानबीचको वार्ता होर्मुज नाका र इरानको रोक्का सम्पत्तिबारे केन्द्रित

रोयटर्स । अमेरिका र इरानबीच कतारको दोहामा बुधबार दुईदिने अप्रत्यक्ष वार्ता सम्पन्न भएको छ । दुवै पक्षले वार्तालाई सकारात्मक भने पनि दीर्घकालीन शान्ति स्थापनातर्फ ठोस प्रगति भएको संकेत भने देखिएको छैन।

स्रोतका अनुसार छलफल मुख्यतः होर्मुज जलडमरूमध्यमा समुद्री यातायातको सहज सञ्चालन र इरानको रोक्का गरिएको सम्पत्ति फुकुवा गर्ने विषयमा केन्द्रित थियो। यी विषय दुई साताअघि भएको अन्तरिम सहमतिका प्रमुख एजेन्डा हुन्।

कतारको विदेश मन्त्रालयले इरानका दिवंगत सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको जुलाई ९ मा हुने अन्त्येष्टिपछि वार्ताको अर्को चरण हुने जनाएको छ। मन्त्रालयका प्रवक्ताले दोहाको वार्ताले जुन महिनामा युद्धविरामका लागि भएको समझदारीलाई कार्यान्वयन गर्ने दिशामा सकारात्मक प्रगति गरेको र स्विट्जरल्यान्डमा सम्पन्न शिखर वार्ताका उपलब्धिलाई अघि बढाएको बताएका छन्।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक कार्यक्रममाथि सम्भावित सीमाबारे पनि प्रगति भइरहेको दाबी गरेका छन्। उनले पत्रकारहरूसँग कुरा गर्दै इरानको आणविक निःशस्त्रीकरण प्रक्रिया सकारात्मक दिशामा अघि बढिरहेको बताए।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले भने इरानको आणविक कार्यक्रमबारे आगामी चरणमा औपचारिक छलफल सुरु गरिने बताएका छन्। कतारको विदेश मन्त्रालयका अनुसार अमेरिकी र इरानी प्रतिनिधिमण्डलले कतार तथा पाकिस्तानका मध्यस्थकर्तासँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।

ह्वाइट हाउसले ‘उच्चस्तरीय’ वार्ताका रूपमा प्रस्तुत गरेको यस बैठकमा अमेरिकी राष्ट्रपति ट्रम्पका ज्वाइँ जारेड कुशनर र विशेष दूत स्टिभ विटकोफ भने सहभागी भएनन्।

इरानी प्रतिनिधिमण्डलका प्रमुख तथा उपविदेशमन्त्री काजेम घरिबाबादीले वार्ता सम्पन्न भएको पुष्टि गरेका छन्। तर दुवै पक्षले वार्ताबाट कुनै ठोस सहमति वा बाँकी रहेका मतभेद समाधान भएकोबारे सार्वजनिक रूपमा जानकारी दिएका छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *