काठमाडौं । आयोजक अमेरिका फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । बिहीबार बिहान भएको अन्तिम ३२ को खेलमा बोस्निया एण्ड हेर्जेगोभिनालाई २-० गोलले हराउँदै अमेरिकाले अन्तिम १६ मा आफ्नो स्थान बनाएको हो । सन् २००२ पछि नकआउट चरणमा अमेरिकाको यो पहिलो जित हो ।
सान फ्रान्सिस्को बे एरिया स्टेडियममा भएको खेलमा अमेरिकालाई जित दिलाउन फोलारिन बालोगन र मालिक टिलम्यानले समान एक/एक गोल गरे । खेलको ४५ औँ मिनेटमा बालोगनले गोल गर्दै अमेरिकालाई शुरुवाती अग्रता दिलाएका थिए ।
६४ औँ मिनेटमा बालोगन रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि अमेरिका १० खेलाडीमा समेटिएको थियो । यस्तै ८२ औँ मिनेटमा टिलम्यानले फ्रि-किकमा सिधैं गोल गर्दै अमेरिकालाई २-० गोलको जित दिलाएका हुन् ।
जितसँगै अमेरिका प्रि-क्वाटरफाइनलमा पुग्दा बोस्निया प्रतियोगिताबाट बाहिरिएको छ । अब अमेरिकाले अन्तिम १६ मा बेल्जियमको सामना गर्नेछ ।
