पुलिसमाथि एपिएफको संघर्षपुर्ण जित

प्रज्जवल थापा । राष्ट्रिय महिला लिगमा विभागीय टोली नेपाल एपिएफ क्लबले संघर्षपुर्ण जित निकालेको हो । सोमबार दिउँसो भएको खेलमा एपिएफले नेपाल पुलिस क्लबलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

एन्फा कम्प्लेक्समा भएको प्रतिस्पर्धात्मक खेलमा एपीएफलाई जित दिलाउन रबिना गोलेले एक गोल गर्दा एक गोल भने उपहार पाएको थियो । पुलिसको लागि अमृता जैसीले एक गोल गरेपनि जितको लागि पर्याप्त भएन । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको २३ औं मिनेटमा एपिएफले अग्रता लिएको थियो

वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेकी सुस्मा तामाङको सट पुलिसकी कप्तान घिम कुमारी गुरुङलाई लाग्दै पोस्टको दिशा लिएको थियो । त्यसको सात मिनेट बित्न नपाउदै अमृता जैशीले डि बक्स बाहिरबाट सुन्दर गोल गर्दै पुलिसलाई बराबरीमा ल्याइन् ।

तर सावित्रा भण्डारीको स्थानमा मैदान छिरेकी रबिना गोलेले खेल सकिन ५ मिनेट अगाडि गोल गर्दै एपिएफलाई २-१ गोलको जित दिलाइन् । जितसँगै एपिएफ १० खेलमा सतप्रतिशत जित निकाल्दै ३० अङ्कको साथ शिर्ष स्थानमा रहेको छ । उपाधि जित्नको लागि एपीएफलाई बाँकी दुई खेलमा मात्र एक जितको आवश्यकता रहेको छ । उपाधि होडबाट बाहिरिसकेको पुलिस १० खेलमा १४ अङ्क जोड्दै चौथो स्थानमा यथावत छ ।

तस्बिर:- एन्फा

Leave a Reply

Your email address will not be published. Required fields are marked *