प्रज्जवल थापा । पार्वती घलेको दुई गोलको मद्दतमा बिराटनगर महानगरपालिका मोरङले राष्ट्रिय महिला लिगमा जित हासिल गरेको छ । शनिबार दिउँसो भएको खेलमा बिराटनगरले चौदण्दीगढी नगरपालिका उदयपुरलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा अग्रता भने चौडण्दीगढीले लिएको थियो । सातौं मिनेटमा मनिता तामाङले गोल गर्दै चौदण्डीगढीलाई खेलमा अगाडि बढाएकी थिइन् । १५ औं मिनेटमा पार्वतीले गोल गर्दै बिराटनगरलाई बराबरीमा ल्याइन् । यस्तै ८७ औं मिनेटमा पार्वतीले व्यक्तिगत दोस्रो गोल गर्दै बिराटनगरलाई २-१ गोलको जित दिलाइन् ।
जितका बाबजुत बिराटनगर १० खेलमा १३ अङ्क जोड्दै पाँचौ स्थानमा यथावत छ । चौदण्डीगढीले भने लिगमा अहिलेसम्म अङ्कको खाता खोल्न सकेको छैन ।
तस्बिर:- एन्फा
