सेनाका राजन रोकायालाई पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि

कास्की । नेपाली सेनाका राजन रोकायाले १५औँ संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को उपाधि जित्न सफल भएका छन् । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा शनिबार पोखरामा सम्पन्न म्याराथनमा रोकायाले दुई घण्टा २८ मिनेट ५६ सेकेण्डमा निर्धारित ४२ किलोमिटर दूरी पूरा गरी उपाधिसहित नगद दुई लाख तथा ट्रफी प्राप्त गे । यसैगरी द्वितीय र तृतीय स्थानको उपाधिसमेत सेनाका धावकहरुले प्राप्त गरेका छन् ।

सेनाका ज्ञानप्रसाद भट्टराईले दुई घण्टा ३३ मिनेट ४८ सेकेण्डमा दौड पूरा गरी एक लाख पुरस्कार प्राप्त गरे भने देवीराज बस्नेतले दुई घण्टा ४२ मिनेट ३३ सेकेण्डमा म्यारथनको निर्धारित दूरी पार गरी तृतीय स्थानको पुरस्कार ७५ हजार रुपैयाँ प्राप्त गरे । पाँचथरका प्रदीप तामाङले दुई घण्टा ५४ मिनेट आठ सेकेण्डमा दूरी पार गरी सान्त्वना स्थानसहित २५ हजार पुरस्कार तथा ट्रफी प्राप्त गर्न सफल भएका छन् ।

यस वर्ष पहिलोपटक पोखरा म्याराथनमा महिलाका लागि २१ किलोमिटरको हाफ म्याराथन समावेश गरिएकामा नेपाल प्रहरीका राजपुरा पछाईँले हाफ म्याराथनको उपाधि जित्न सफल भए । निर्धारित दूरी एक घण्टा २७ मिनेट आठ सेकेण्डमा पूरा गरी उनले एक लाख र ट्रफी पुुरस्कार प्राप्त गरे ।

यसैगरी जुम्लाका राममाया बुढाले एक घण्टा ३० मिनेट पाँच सेकेण्डमा दौड पूरा गरी द्धितीय स्थान हासिल गर्न सफल भई ७५ हजार पुुरस्कार प्राप्त गरिन् । सशस्त्र प्रहरी बलका ब्रिन्दा श्रेष्ठले एक घण्टा ३१ मिनेट दुई सेकेण्डमा निर्धारित दूरी पार गरी तृतीय स्थान हासिल गरिन् । उनी ५० हजार पुरस्कार पाउन सफल भइन् ।

नेपाल प्रहरीका रेखा विष्टले एक घण्टा ३६ मिनेट दुई सेकेण्डमा हाफ म्याराथन पूरा गरी सान्त्वना स्थान प्राप्त गरेर १५ हजार पुरस्कार प्राप्त गरिन् । पोखरा रङ्गशालाबाट शुरु भएको म्याराथन बजार विभिन्न क्षेत्र पुगेर रङ्गशालामा आएर समापन गरिएकामा म्याराथनमा २०९ र महिलाको हाफ म्याराथननमा २९ जनाले सहभागिता जनाएका आयोजकले जनाएको छ ।

विजेता खेलाडीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवाल, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, मञ्चका अध्यक्ष तेजबहादुर गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए । विगतका संस्करणमा विदेशी धावकहरुले प्रतियोगितामा सहभागिता जनाउने गरेकामा यस वर्ष कोरोना कारणले विदेशीको सहभागिता थिएन । गत संस्करणको उपाधि जापानका खेलाडीले जित्न सफल भएका थिए ।

विगतका संस्करणमा म्याराथनसहितका अन्य विधाहरु एकै दिन सञ्चालन हुने भएकामा यस वर्ष कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिमलाई मध्यनजर गरी अन्य इभेन्टहरुलाई फरक–फरक मितिमा आयोजना गरिएको मञ्चले जनाएको छ । जस अन्तर्गत ह्विलचियर दौड महिला र पुरुष तथा दृष्टिविहीन दौड फागुन २२ गते हुनेछ ।

१० किलोमिटर महिला/पुरुष दौड आगामी चैत १४ गते र पाँच किलोमिटर छात्र/छात्रा दौड आगामी वैशाख ४ गते सञ्चालन गरिने आयोजकले जनाएको छ । दश किमी महिला/पुरुष दौडमा विजेता १५ हजार तथा द्धितीय र तृतीयले १० हजार र पाँच हजार पुरस्कार प्राप्त गर्नेछन् ।

ह्लिचियर र दृृष्टिविहीनतर्फका दुवै इभेन्टमा विजेताले सात हजार, द्वितीयले पाँच हजार र तृतीयले तीन हजार पुरस्कार पाउनेछन् । यसैगरी छात्र÷छात्रा दौडमा प्रथमले १० हजार द्धितीयले सात हजार र तृतीय हुनेले चार हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *