मुस्ताङ भन्सारमा दुई अर्ब २४ करोड राजस्व सङ्कलन

मुस्ताङ। नेपाल–चीन उत्तरी कोरलानाकास्थित न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले  दुई अर्ब २४ करोड तीन लाख ४१ हजार राजस्व सङ्कलन गरेको छ। गत ३१ भदौदेखि पूर्ण रूपमा सञ्चालनमा आएको कोरलानाका व्यापारिक गतिविधि सोमबारसम्म सक्रिय रहेको हो।

२०८० कात्तिक २७ गतेदेखि माथिल्लो लोमान्थाङ र लोघेकर–दामोदरकुण्ड गाउँपालिकाबासीलाई लक्षित गर्दै आंशिक सञ्चालनमा रहेको कोरलानाका अब पूर्ण रूपमा व्यापारिक आयात–निर्यातका लागि खुला गरिएको थियो। भन्सार विभागले प्राविधिक व्यवस्थापन र जनशक्ति व्यवस्थापन गरेसँगै यहाँ व्यापारिक चहलपहल बढेको भन्सार प्रमुख रमेश खड्काले जानकारी दिए।

भन्सार सक्रिय भएको एक साता भित्र आन्तरिक व्यवस्थापन मिलाउन समय लागे पनि दसैँअघि कोरलानाका माध्यमबाट रु दुई अर्ब दुई करोड ९६ लाख राजस्व सङ्कलन भइसकेको छ। चीनबाट भित्रिएका मालवस्तु वाहक र विद्युतीय कारको जाँचपास जारी भइरहे पनि दसैँ बिदाका कारण भन्सार कार्यालय एक हप्ता बन्द भएको थियो।

हालसम्म ३८७ मालवाहक र १,१९४ विद्युतीय कारको भन्सार जाँचपास भइसकेको छ। नेपालतर्फबाट स्थानीय उत्पादन र हस्तकला सामग्री ढुवानी गर्ने पाँचवटा साधन चीनतर्फ निर्यात भइसकेका छन्। दसैँपछि थप २२९ विद्युतीय कार र १२ मालवाहकको भन्सार जाँचपास जारी गरिएको छ।

कोरलानाका उच्च उचाइ (४,६१० मिटर) र हिउँदयाम मौसमका कारण मङ्सिरदेखि फागुन मसान्तसम्म भन्सार सञ्चालन चुनौतीपूर्ण हुने गरेको छ। अत्यधिक चिसो, हिउँ, जम्ने पानी र सीमावर्ती क्षेत्रका स्थानीय नागरिकका परम्परागत गतिविधिले पनि नाका सञ्चालनमा कठिनाइ थप्ने गरेको भन्सार प्रमुख खड्काले जानकारी दिए। न्हेचुङमा पर्याप्त भौतिक पूर्वाधारको अभावले पनि भन्सार सञ्चालनमा चुनौती उत्पन्न हुने देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *