काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ विदेशमन्त्री वाङ यीसँग टेलिफोन वार्ता गरेका छन् । शनिबार भएको वार्तामा नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढीबाट दुवै देशमा भएको जनधनको क्षतिप्रति दुवै नेताले गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन् ।
वार्ताका क्रममा रसुवा–जिलोङ बन्दरगाह क्षेत्रमा बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यबारे छलफल भएको छ । साथै, चीनमा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश फर्काउने विषयमा समेत कुराकानी भएको छ ।
परराष्ट्रमन्त्री खनालले आपत्कालीन मानवीय राहत सहयोग उपलब्ध गराएकोमा चीन सरकारलाई धन्यवाद दिएका छन् ।
दुवै देशबीच वास्तविक समयको जल तथा मौसमसम्बन्धी तथ्यांक आदानप्रदानमा थप समन्वय गर्ने र प्रभावकारी पूर्वसूचना प्रणाली विकास गर्न आवश्यक संयन्त्रलाई सुदृढ बनाउने विषयमा पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
