भोटेकोशी बाढीः ६६९ जनाको शव फेला, दुई हजार ३०१ जनाको उद्धार

काठमाडौँ । भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ६६९ पुगेको छ ।

नेपाल प्रहरीले बाढी प्रभावित क्षेत्रबाट आज साँझ ४ बजेसम्म ६६९ जनाको शव फेला परेको जनाएको हो । प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार रसुवामा १३, धादिङमा ४९, नुवाकोटमा ४१, गोरखामा ५४, तनहुँमा ३१, चितवनमा २४८, नवलपरासी पूर्वमा १५८ र नवलपरासी पश्चिममा ७५ जनाको शव फेला परेको छ ।

नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक (डिआइजी) अविनारायण काफ्लेका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म दुई हजार ३०१ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये रसुवाका ६७६, नुवाकोटका एक हजार ६२२ र धादिङका तीन जना रहेका छन् ।

विभिन्न स्थानबाट उद्धार गरिएका गम्भीर घाइतलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । प्रहरीका अनुसार काठमाडौँका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका गरी हालसम्म १४० जना रहेका छन् ।

रसुवा बाढीपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका केही कर्मचारीसमेत सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार नेपाली सेनाका ४४, नेपाल प्रहरीका २७ र सशस्त्र प्रहरी बल, नेपालका १३ जना कर्मचारी अझै सम्पर्कविहीन छन् ।

बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धार कार्यलाई तीव्र पारिएको प्रहरीले जनाएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाललगायत सम्बन्धित निकायका सुरक्षाकर्मी तथा उद्धार टोलीले सम्भावित जोखिमयुक्त क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी राखेका छन् ।

बाढीका कारण प्रभावित क्षेत्रमा मानवीय तथा भौतिक क्षतिको विवरण सङ्कलनसँगै बेपत्ताको खोजी र उद्धारलाई प्राथमिकतामा राखिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *