काठमाडौँ । भारत–चीन सीमावर्ती क्षेत्र लद्दाकमा दुई देशबीच हिंसात्मक भिडन्त भएको छ । उक्त क्षेत्रमा भएको तनावमा दुवैतर्फ हताहती भएका छन्। युद्वरथ क्षेत्र चिनियाँ सेनाको कब्जामा रहेको बताइएको छ ।
भारत र चीनको सीमाक्षेत्र लद्दाखको गल्वान उपत्यकमा सोमबार राति भएको भिडन्तमा भारतीय सैनिकका कर्णेलसहित २० सैनिकको मृत्यु भएको थियो । चीनतर्फ पनि हताहती भएको भारतीय सञ्चार माध्यमले दाबी गरेका छन् ।
आणविक शक्ति राष्ट्र भारत र चीनबीच लद्दाखमा सन् १९६२ को युद्धपछि छिटफुट आमने–सामने र झडप हुँदै आएको थियाे । तर ज्यानै जाने गरी भिडन्त भएको यो ४५ वर्षपछि पहिलो घटना हो । अरूणाञ्चलको तुलुङ लामा १९७५ मा दुई देशका सैनिकबीच भिडन्त भएयता भारत र चीनबीचको सीमानामा यो पहिलो हताहती हो । सीमामा हताहती रोक्न गस्ती गर्दा दुबै देशका सैनिकहरू निःशस्त्र हिँड्ने र समन्वय गर्ने गरे पनि एक महिनायता तनाव बढेको थियो ।
गत मे ५ मा लद्दाखकै प्यान्गोङ सो हिमताल छेउमा भारत र चीनका सैनिकहरूबीच धकेलाधकेल हुँदा दुबैतर्फका केही सैनिकहरू सामान्य घाइते भएका थिए । भारत र चीनका सुरक्षाकर्मीबीच सीमामा तनाव र आमने–सामनेको स्थिति सोमबार राति हिंसात्मक झडपमा बद्लिएको हो ।
तनाव रोक्न दुबै देशबीच वार्ता भइरहेका बेला भिडन्त भएको हो । भारत र चीन दुवै देशले भिडन्तको आरोप एक–अर्कामाथि लगाएका छन् ।
गल्वान उपत्यकामा चिनियाँ सैनिकले भारतीय भूमि अतिक्रमण गरी गस्ती गरिरहेको भारतले आरोप लगाउँदै आएको छ । त्यस्तै, भारतले युद्धको तयारीस्वरूप पूर्वी लद्दाखको लाइन अफ कन्ट्रोलनजिकै चीनले थप ५ हजार फौज उतारेको दाबी गरिरहेको छ ।
चिनियाँ सरकार नियन्त्रित सञ्चारमाध्यमहरूले समेत सीमानामा चिनियाँ सेनाको बढ्दो गतिविधिबारे भिडियो र अन्य सामग्री प्राथमिकताका साथ प्रशारण गरिरहेका छन् ।
चीनले सहमतिविपरीत भारतले सीमा पार गरी उत्तेजक गतिविधि गरेकाले भिडन्त भएको आरोप लगाएको छ । भारतीय रक्षामन्त्रीले तीन वटै सैन्य संगठनका प्रमुखहरूसँग घटनाबारे आकस्मिक छलफल गरेका छन् । यसले थप युद्द हुने देखिएको छ ।
भारत र चीनबीच ३ हजार ४ सय ८८ किलोमिटर लामो सीमाका धेरै ठाउँमा सीमाविवाद र एक अर्काको दाबी छ । सीमा विवादलाई लिएर सन् १९६२ मा दुई देशबीच युद्ध भएको थियो । सीमानाका धेरै ठाउँमा लाइन अफ एक्चुयल कन्ट्रोलकै टुंगो नलागेकोले दुई देशले सीमा क्षेत्रलाई आ-आफ्नो दाबी गर्दै आएका छन् ।