रोनाल्डोको दुई गोलमा युभेन्टस विजयी

प्रज्जवल थापा । सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको दुई गोलको सहयोगमा सिरि ए मा युभेन्टस विजयी भएको छ । आइतबार राती भएको खेलमा युभेन्टसले जिनोआलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

युभेन्टसलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्दा पाउलो डिबालाले एक गोल गरे । जिनोआको लागि स्टेफानो स्टुरारोले गरेको गोल सान्तवना गोलमा सिमित रह्यो । आजको खेलसँगै फर्वार्ड क्रिस्टियानो रोनाल्डोले युभेन्टसको लागि १ सय खेल खेलेका छन् । रोनाल्डो सन् २०१८ मा रियल म्याड्रिड छोडेर युभेन्टस पुगेका थिए । गोलको लागि भने दुवै टोलीले दोस्रो हाफसम्म कुर्नुपरेको थियो ।

खेलको ५७ औँ मिनेटमा वेस्टन मेकेन्नेको पासमा पाउलो डिबालाले गोल गर्दै युभेन्टसलाई खेलमा अगाडी बढाएका थिए । ६१ औँ मिनेटमा लुका पेल्लेग्रीनीको पासमा स्टेफानो स्टुरारोले गोल गर्दै जिनोआलाई बराबरीमा ल्याए । ७८ औँ मिनेटमा क्रिस्टोयानो रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युभेन्टसको अग्रता दोब्बर बनाए । विपक्षी खेलाडीले कौड्राडोलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछी युभेन्टसले पेनाल्टी पाएको थियो ।

खेलको ८९ औँ मिनेटमा युभेन्टसले खेलको दोस्रो पेनाल्टी पायो । जोनोआका गोलकिप्पर पेरिनले मोराटालाई लडाएपछी पाएको पेनाल्टीमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसलाई ३-१ गोलको जित दिलाए । जितसँगै युभेन्टस ११ खेलमा २३ अङ्क जोड्दै लिगको चौथो स्थानमा उक्लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *