काठमाडौं । रोजगारीका लागि रुसी सेनामा भर्ना भएका नेपाली युवाको मृत्यु हुने क्रम दिनदिनै बढ्दै गएको छ । नेपाली युवालाई भर्ना नलिन र भर्ना भएकाहरुलाई पनि नेपाल फर्काउन रुसी सरकारलाई आग्रह गरेपनि त्यसको अहिलेसम्म कुनै जवाफ आएको छैन । अहिलेसम्म रुसी सेनामा भर्ना भएका १२ जना नेपाली मारिएको खबर आएको छ । रुसी सेनामा भर्ती भएका थप एक युवाको मृत्यु भएको खबर आएको छ । लमजुङको दूधपोखरी गाउँपालिका–१ घामर चोकका ३२ वर्षीय साजन गुरुङको रुस–युक्रेन युद्धमा मृत्यु भएको हो । रोजगारीका लागि रुसी सेनामा पुगेका गुरुङको मृत्यु भएको खबर केहीदिन अघि नै परिवारलाई जानकारी आएको थियो । गुरुङको मृत्युसंगै रुस–युक्रेन युद्धमा ज्यान गुमाउने नेपालीको संख्या १२ पुगेको छ । ४ जना नेपाली युक्रेनी सेनाको कब्जामा छन् । परराष्ट्र मन्त्रालका अनुसार बर्दियाका विवेक खत्री, काभ्रेका सिद्धार्थ ढकाल, मोरङका विकास राई र रोल्पाका प्रतीक पुन युक्रेनी सेनाले बन्धक बनाएको छ । उनीहरु रुसी सेनामा भर्ना भएर युक्रेनविरुद्ध लड्न जाँदा समातिएका हुन् । सरकारसंग कति नेपाली रुसी सेनामा छन् भन्ने यकिन तथ्याङक छैन । सरकारले दुई सयको संख्यामा नेपाली युवा रुसी सेनामा भर्ना भएको जानकारी आएको बताउँदै आएको छ । तर त्यो संख्या अझै ठूलो भएको बताइन्छ ।
मंसिर १८ गते परराष्ट्र मन्त्रालयले रुसी सेनामा कार्युरत ६ जना नेपालीको मृत्यु भएको खबर नेपाल सरकारलाई प्राप्त भएको जानकारी दिएको थियो । परराष्ट्रले गोरखाका सन्दीप थपलिया, कपिलवस्तुका रुपक कार्की, कास्कीका देवान राई, स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोका र इलामका गंगाराज मोक्तान मारिएको जानकारी दियो । त्यसपछि पुस ४ गते मन्त्रालयले कुन्दन सिंह नागलको मृत्यु भएको जानकारी दिएको थियो । यसपछि मन्त्रालयले नेपाली मृत्यु भएकोबारेमा औपचारिकरुपमा कुनै जानकारी दिएको छैन ।
मंसिरमै धादिङका पूर्णबहादुर गुरुङको युक्रेनी सेनाको आक्रमणमा परि मृत्यु भएको खबर आयो । तर मन्त्रालयले उनको मृत्यु बारे आधिकारिक जानकारी गराएको छैन । पुस ४ सम्म रुसी सेनामा भर्ती भई मारिने नेपालीको संख्या ८ पुगेको थियो । अवैध बाटो भएर रुसी सेनामा भर्ती हुने नेपालीको संख्या पनि रोकिएन र युद्धमा मर्ने नेपालीको संख्यामा पनि कमी आएन । पुस १८ मा थप ३ जना नेपालीले युद्धमा ज्यान गुमाएको खबर आयो । स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरतबहादुर शाह र धादिङका राजकुमार गिरीले युद्धमा ज्यान गुमाए । तर यी खबर मन्त्रालयले नदिई मृत्यु भएकाहरुका साथीले घरमा खबर गरेर थाहा भएको हो ।
सन् २०२२ को फेब्रुअरीमा रूसले युक्रेनमाथि हमला गरेपछि दुई देशबीच युद्ध सुरु भयो । यस युद्धसँग नेपालको प्रत्यक्ष साइनो केही थिएन । तर, युद्ध लम्बिँदै गर्दा मानव तस्करको सञ्जालमार्फत नेपाली युवाहरू रूसी सेनामा भर्ती गराउन थालियो । नेपाली युवालाई त्यहाँ पुर्याउन गिरोह नै लागेको थाहा भएको छ । अध्यागमनका कर्मचारी र एयरलाइन्सका कर्मचारीको मिलेमतोमा भिजिट भिसामा पठाउने गरेको समेत खुलेको छ । अध्यागमनका कर्मचारी, ट्राभल एजेन्सीका संचालक र एयरलाइन्सका कर्मचारी पक्राउ परेपछि यसबारे खुलासा भएको हो । भारत र बेलायतको सेनामा नेपाली भर्ना हुन सक्ने व्यवस्था भएपनि अन्य मुलुकका सेनामा नेपालीलाई भर्ना गर्न मिल्ने गरी अहिलेसम्म कुनै सन्धि–सम्झौता भएको छैन । तर, महिनामा तीन लाखसम्म तलब र एक वर्षपछि रूसी पीआर पाइने प्रलोभन देखाएर मानव तस्करहरूले नेपाली युवालाई रुस ओसारेका छन् ।
यसमा रुसी सरकारले पनि चासो दिएको छैन । रुसी सेनाले धमाधम नेपाली युवालाई भर्ती गर्दै युद्धमा पठाउने गरेको छ । यसपछि नेपाल सरकारले रुस जानेमाथि कडाइ त गरेको छ तर अन्य मुलुक हुँदै रुस जानेक्रम भने रोकिएको छैन । परराष्ट्र मन्त्रालयलाई १ सय ३३ परिवारले आफ्ना परिवारका सदस्यहरू त्यहाँ जोखिममा परेको जानकारी दिएका छन् । परराष्ट्रमन्त्री एनपी साउनले भने, ‘आठ वटा शव अहिले त्यहाँको शवगृहमा राखिएको कुरा आएको छ । हामीले ती शव नेपाल ल्याउनका लागि कुटनीतिक पहल गरिरहेका छौँ । त्यसबाहेक १३३ परिवारले हामीलाई आफ्ना परिवारका सदस्य त्यहाँ पुगेका र जोखिममा परेको भनेर आग्रह गरेअनुसार हामीले उहाँहरूलाई स्वदेश फिर्ताको प्रबन्ध मिलाउन पहल गरिरहेका छौँ ।’ उनका अनुसार विद्यार्थी भिसा र भिजिट भिसामा रुस पुगेकाहरू त्यहाँको सेनामा भर्ती भएका हुन् ।
सरकारले रुसमा अप्ठ्यारोमा परेका आफ्ना नागरिकलाई उद्दार गर्ने त भनेको छ । तर लामो समय बितिसक्दा पनि त्यसको परिणाम भने देखिएको छैन । इजरायलमा हमासको आक्रमणबाट १० नेपालीको मृत्यु भएपछि त्यहाँ रहेका नेपालीको उद्दार गर्न जहाज नै पठायो । अझ परराष्ट्रमन्त्री साउद आफैं गएका थिए । त्यसबेला सरकारले वाहीवाही पाएको थियो । तर त्यो कुटनीति रुसमा भने देखिएन ।
रुससँग नेपालको सम्बन्ध नराम्रो पनि होइन । गत वैशाखमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको रुस भ्रमणपछि रुसले रुसी सहयोग र सहकार्यमा निर्माण तथा सञ्चालन हुन सक्ने विभिन्न १३ वटा परियोजनाका लागि नेपाल सरकारसँग बिस्तृत परियोजना प्रस्ताव मागेको थियो । रुसले विद्युतीय रेलवे, राजमार्ग, बालबालिका क्यान्सर अस्पताल निर्माणदेखि नेपाली विद्यार्थीलाई मस्कोमा अध्ययनका लागि छात्रबृत्ति कोटा बढाउनेसम्मका परियोजना रहेका छन् । रुसले पूर्व–पश्चिम विद्युतीय रेलमार्ग र काठमाडौंमा मस्को रेलवेसँग मिल्दोजुल्दो रेलवे निर्माण गर्न तथा नेपालको मुख्य पर्यटकीयस्थ पोखरादेखि नजिकका पर्यटकीयस्थलहरुलाई जोड्ने पोखरा–रिडी सडक निर्माणका लागि परियोजना प्रस्ताव मागेको छ । यस्तै, रुसले नेपालसँग मस्कोबाट सिधा हवाइ उडान गर्ने, नेपालको हिमाली तथा पहाडी क्षेत्रमा उपयुक्त हुने रुसी हेलिकप्टर बिक्री गर्ने तथा नेपालका पहाडी क्षेत्रका लागि उपयुक्त हुने सवारी साधानहरुको बिक्री गर्न पनि चासो राखेको छ।
विद्यार्थी वा भिजिट भिसा जुनमा गएपनि जाने त गइसके नै । तर उनीहरुलाई फर्काउने मामलामा भने सरकारको कुटनीतिक पहल कमजोर देखिएको छ । कात्तिकमा नेपाली मारिएको खबर मंसिरमा आयो । अहिले माघ लागिसकेको छ । अहिलेसम्म १२ नेपालीले ज्यान गुमाइसकेका छन् भने अरु कतिको ज्यान जाने ठेगान छैन । यो श्रृंखला रोक्नका लागि उनीहरुको उद्दार गर्न सरकारले ढिला गर्नु हुँदैन । इजरायलमा जस्तै सरकारले छिटोभन्दा छिटो रुसी सरकारसंग कुटनीतिक पहल गरी आफ्ना नागरिकलाई थप क्षति हुनबाट जोगाउनेतर्फ लाग्नेकि ?
